धादिङ– धादिङको सिद्धलेख गाउँपालिका-१ बैरेनी चोकमा निशुल्क वाइफाइ सेवा सुरु गरिएको छ । नलाङ युनिटी टिमको पहलमा निःशुल्क इन्टरनेट जडान गरिएपछि अब स्थानीय बासिन्दा, विद्यार्थी, व्यापारी तथा आगन्तुकले निःशुल्क इन्टरनेट चलाउन पाउने भएका छन्।
नलाङ युनिटी टिमको पहलमा सोमबारदेखि बैरेनी चोकमा ‘फ्री वाइफाइ’ सेवा औपचारिक रूपमा सुरु गरिएको हो । निःशुल्क वाइफाइ सेवाले दैनिक जीवन सहज हुने मात्र नभई विद्यार्थीलाई अध्ययनमा, व्यापारीलाई कारोबारमा तथा आगन्तुकलाई आवश्यक सूचना आदानप्रदानमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको स्थानीयले बताएका छन्। नलाङ युनिटी टिमका अनुसार बैरेनी चोकमा सुरु गरिएको सेवा प्रारम्भिक चरण हो। टिमले यसलाई क्रमशः विस्तार गर्दै सम्पूर्ण बैरेनी क्षेत्रमा ‘फ्री वाइफाइ जोन’ बनाउने लक्ष्य लिएको नलाङ युनिटी टिमका राजु सिंखडाले जानकारी दिए।
“हाम्रो उद्देश्य बैरेनीलाई डिजिटल क्षेत्रमा अगाडि बढाउनु हो। यस अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयको साथ, सुझाव र सहयोग अपरिहार्य छ,” उनले भने । यस्ता सामुदायिक पहललाई सफल बनाउन इच्छुकले आर्थिक वा प्राविधिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सहयोग गर्न चाहनेहरूले नलाङ युनिटी टिमसँग सम्पर्क गर्न सक्ने बताइएको छ। स्थानीयवासीले यस अभियानलाई स्वागत गर्दै यसले डिजिटल बैरेनी अभियानलाई बल पुर्याउने विश्वास व्यक्त गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप