धादिङ– धादिङको नीलकण्ठ नगरपालिका-८ रामकोटमा अवस्थित रामकोट दरबारमा रहेको राम शाहको शालिक तोडफोड भएको छ ।
घटनास्थलमा हेर्दा शालिक चोर्ने मनसायले शालिक तोडफोड गरिएको हुन सक्ने नीलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए । `अर्को हिसाबले हेर्दा रामकोटमा भएको विकासको प्रतिशोध पनि हुन सक्छ । त्यसैले यो दुवै तरिकाले अनुसन्धान गर्न आवश्यक देखिन्छ’ उनले भने ।
पुरातत्त्व विभागले प्रमाणीकरण गरेपछि दरबारको संरक्षण र शालिक निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने-‘वडाको पाँच लाख रकमबाट शालिक तथा दरबार क्षेत्रको संरक्षण गरिएको हो ।’
शालिकको तोडफोड हेर्दा शालिक चोर्नकै लागि फुटाइएको जस्तो देखिएको स्थानीय रचना श्रेष्ठले जानकारी दिइन् । ‘शालिकमा क्षति छैन, तर जडान गरिएको अन्य भागहरूमा हल्लाइएको जस्तो देखिन्छ । जसले गर्दा सालिकको कम्मरभन्दा तलको भागमा सबै भत्किएको छ। कसले तोडफोड गर्यो भन्ने विषयमा यकिन भएको छैन । तर जडान गरिएको भागहरूमा तोडफोड गरेर शालिक निकाल्न खोजेको जस्तो देखिन्छ’ उनले भनिन्- ‘घटनाले समुदायमा क्षति पुर्यायो । अर्को तर्फ दिउँसै यस्ता तोडफोडका घटनाले सामाजिक सुरक्षा माथि प्रश्न चिन्ह खडा गरेको छ। ‘
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप