नागढुंगा मुग्लिन सडकको धादिङ खण्डमा १६ स्थानमा पहिरोको उच्च जोखिम

  • २०८२ आश्विन १८, शनिबार (१ हप्ता अघि)
  • २१२ पटक पढिएको
नागढुंगा मुग्लिन सडकको धादिङ खण्डमा १६ स्थानमा पहिरोको उच्च जोखिम

काठमाडौँ– भारी वर्षासँगै नागढुंगा मुग्लिन सडकको धादिङ खण्डको १६ स्थान पहिरोको उच्च जोखिममा रहेको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत धादिङ खण्डको १६ स्थान पहिरोको उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले पहिचान गरेको हो ।

देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका १६ स्थानहरूमा सडक माथिबाट पहिरो खस्ने र सडक भासिने उच्च जोखिम पहिचान गरेको हो । धादिङ र संघीय राजधानी काठमाडौँको सिमा क्षेत्रमा पर्ने धादिङस्थित धुनिबेसी नगरपालिकाको झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र) र सुरुङ मार्ग, थाक्रे गाउँपालिकाको चार किलोमा (बाटो भासिएको), चार किलो पेट्रोल पम्प लेदो बग्ने ठाउँ, सात किलो, गल्छी गाउँपालिकाको कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), गजुरी गाउँपालिकाको चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर र बेनीघाट रोराङ गाउँपालिकाको हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेका छन् ।

विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानहरूमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा कायम छ । सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

‘राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन, जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस यात्रामा ननिस्कनुहोस’ उनले भने- ‘छिनछिनमै रोकिने र खुलाउने क्रम चलिरहेको छ । पहिरोमा रोकिएका सवारी साधनलाई पहिरो पन्छाउदै गन्तव्यतर्फ पठाइएको छ ।  अहिले जाम वा अलपत्र अवस्थामा सवारी छैनन् । तर, राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन ।’

सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए । ‘आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको छ।

अलपत्र परेका सवारीसाधनलाई सकेसम्म छिटो काठमाडौँ प्रवेश गराउने कार्य भइरहेको छ । सडक विभागका प्राविधिकहरू, प्रहरी र स्थानीय निकायहरूको सहकार्यमा जोखिम न्यूनीकरणका कार्यहरू निरन्तर भइरहेको छ’ उनले भने ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट