





























काठमाडौँ– अग्लो पहाड, पहराको टुप्पोबाट खस्ने गंगा र जमुना झरना । गाङ्गजमुना माई, शिव मन्दिर, गुम्बा, मेलाका स्टलहरु, विभिन्न प्रकारका खेलहरु, सांस्कृतिक कार्यक्रम, वर्षातको समयमा छाता ओडेर मेला भर्न आउनेहरूको घुइँचो । १३ सय वर्ष पुरानो पहाडको खोचमा रहेको ऐतिहासिक महत्व बोकेको धादिङको गङ्गाजमुना मेला । यो गङ्गाजमुना मेला केवल धार्मिक आस्था मात्र नभएर संस्कृति, जनजीवन र विश्वासको संगम पनि हो।
पहाडको टुप्पोमा फैलिएको मेला, रंगीचंगी स्टल, पूजाआराधना, जाग्राम र झरनाको ठिहीमा भिज्दै आएका भक्तजनहरूको भीडले उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-५ फुलखर्क स्थित मा अवस्थित गङ्गाजमुना मेला झरीमा पनि उत्साह देखिएको छ ।
झरना र गङ्गाजमुना माई धार्मिक तथा पर्यटकीय रूपले परिचित स्थल हो । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न ठूलो भिड लाग्ने गर्दछ । धादिङकोे उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान स्नान गरी पूजाआजा गरेका छन् ।
गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।
गङ्गाजमुना गाउँपालिका– ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मागेको मनोकामना पुरा हुने विश्वास छ । भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास छ । त्यसैले पनि गङ्गाजमुनाको दर्शन गर्न र झरनामा नुहाउन भक्तजनहरुको भिड लाग्ने गर्दछ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । ढुंगामै कुदेको मूर्तिले मन्दिरको थप सुन्दरता थपेको छ ।
एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ । हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने विश्वास रहिआएको छ ।
मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् ।
दुई दिनदेखि वर्षा भइरहेपनि गङ्गाजमुना मेला भर्न आउनेहरूको घुइँचो नै छ। तर वर्षातका कारण गतवर्षहरूमा जस्तो श्रदालुभक्तजनहरूको उल्लासमय उपस्थिति भने हुन नसकेको गङ्गा जमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।
एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै देखिन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो भेषभूषा र पहिरनअनुसारको कला देखाउँछन् । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष सांगीतिक कार्यक्रम आयोजनासँगै थप व्यवस्थित पार्न पलह गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।
धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक बनेको गङ्गाजमुना झरना र माई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

