





























धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा पञ्चमी मेला आज कात्तिक २३ गतेबाट सुरु हुदै छ । पुजा आजा गरि मागेको आशिवार्द तथा मनले चिताएको पुरा हुने विश्वासका साथ भक्तजनहरु हरेक वर्ष रामकोटमा लाग्ने पञ्चमी मेलामा पुग्ने गर्दछन् ।



कात्तिक २३ गते अर्थात् आइतबार चौथीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । फुलको डोली लाने रातभरि जाग्राम बस्ने, रमाइलो गर्ने गरिन्छ । मण्डलीदेवी र मण्डलेश्वर महादेवको पुजा गरि आशिष माग्ने चलन रहि आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर मगरले बताए । ‘मण्डलीदेवी जेठी र माइली रामकोटमा रहेको छ । कान्छि बहिनी भने यहाँ बस्दिन भनेर खोला तरेर टाढा जाने क्रममा ढोला मण्डलीमा गएको भन्ने किम्बदन्ती रहेको छ’ उनले भने ।
रामकोट दरबारले पनि प्रख्यात रहेको छ । भग्नावशेषहरु अझै पनि भेटिने उनले बताए । चौथीमा पुजा गर्र्ने र पञ्चमीमा बली चढाएर पुजाआजा गर्दा मनले चिताएको कुरा पुरा हुने विश्वास चलि आएको उनको भनाई छ । देवीको पुजा मगर जातिले गर्ने र मण्डलेश्वर महादेवको पुजा चाँहि बाहुन जातिले गर्नु पर्ने चलन रहि आएको छ । देवीको पुजा विवाह नभएको मगर जातिका १२ वर्ष भन्दा कम उमेरका बालकले गर्दै आएको उनले बताए ।
मेलालाई आकर्षक बनाउन लोप हुदै गएको रोटे पिङ हालिएको स्थानीय आकाश मगरले बताए । डाँडामा रहेको मन्दिरबाट सुन्दर दृश्यावलोकन गर्न सकिने र मन्दिरमा पुजाआजा गरि मागेको आशिर्वाद पुरा हुने विश्वासले हरेक वर्ष भक्तजनहरुको भिड लाग्ने गरेको उनको भनाई छ ।
मन्दिरसहित आसपास सजाएर बत्ती बाल्ने पालाहरु राखिएको उनले बताए । गत वर्षहरुमा भन्दा मेलालाई थप भव्य बनाउन व्यवस्थित गरिएको उनको भनाई छ ।
वडामा रहेको ऐतिहासिक तथा पर्यटकिय क्षेत्रलाई संरक्षण र व्यवस्थित गर्न वडाले पनि पहल गर्दै आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । उनले भने– ‘हाम्रो वडा भित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रर्वद्धनमा विशेष योजना बनाएर काम गरिरहेका छौैं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

