





























धादिङ- धादिङको नीलकण्ठ नगरपालिका-३ बीच बजारमा सडक नाटक प्रदर्शन गरिएको छ। नीलकण्ठ नगरपालिकाको आयोजनामा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहयोग तथा स्काई फोटो फिल्म्स एण्ड मिडिया हाउसले लैङ्गिक हिंसा सम्बन्धी निर्माण गरेको सडक नाटक ‘No Means No’ प्रदर्शन गरिएको हो।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा मञ्चन गरिएको यो नाटकले समाजमा बढ्दै गएको लैङ्गिक हिंसा, डिजिटल दुरुपयोग र युवाबीच देखिन थालेका संवेदनशील सामाजिक समस्याको चित्रण गरिएको थियो। बिनोद तमु ‘बल्लु’ को लेखन तथा मनिष श्रेष्ठको संयुक्त निर्देशनमा तयार गरिएको नाटकमा रवि भट्टराई, मनिष श्रेष्ठ, बिनोद तमु, अनिस श्रेष्ठ, प्रतिमा अर्याल, समिता लम्साल, रोशन बयलकोटी र समिर रिजाल लगायत कलाकारको प्रस्तुति रहेको थियो।
नाटकमा विशेष रूपमा युवतीमाथि हुने मनोवैज्ञानिक दवाव, प्रेम प्रस्ताव अस्वीकार गर्दा देखिने आक्रामक व्यवहार, सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या तथा एआई प्रविधिको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिमलाई अत्यन्त सशक्त रूपमा आम सामुदायिक दर्शक समक्ष प्रस्तुत गरिएको थियो। दर्शकहरूले पनि नाटकलाई अत्यन्त गम्भीर र समसामयिक विषय उठान गरेको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माले नाटकले युवाहरूमा सही सोच, सुरक्षित व्यवहार र डिजिटल जिम्मेवारीबारे सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले भने-“अस्वीकार भनेको अस्वीकार नै हो। यो नाटकले युवाहरूलाई सीमाना, सम्मान र जिम्मेवारीबारे गहिरो सन्देश दिएको छ। समय र परिस्थितिसँगै फेरिँदै गएको लैङ्गिकताको आधारमा नै हिंसाको चित्रण गर्दै न्यूनीकरणमा यस सडक नाटकले ठूलो पहल गरेको छ ।”
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
