नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा, युवा मानव अधिकार रक्षक संजाल गठन 

  • २०८२ मंसिर २४, बुधबार (१ मिनेट अघि)
  • ४ पटक पढिएको
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा, युवा मानव अधिकार रक्षक संजाल गठन 

धादिङ– धादिङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा गरिएको छ। ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पारेर धादिङबेसीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा गरिएको हो ।

नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानव अधिकार एलाएन्स, ग्लोबल नेपालको आयोजना र नीलकण्ठ नगरपालिका लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा समीक्षा गरिएको हो । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि धादिङमा संकलन गरिएका घटनाहरुको विवरण इन्सेक प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ धादिङ सीताराम अधिकारीले प्रस्तुती गर्दै ५२वटा घटनामा ५९ जना पीडित भएको उल्लेख गरे ।

संकलित घटनामध्ये कारागारमा मृत्यु ३ जना, घाइते ७ जना, हत्या ३ जना, संचारकर्मीमाथी धम्की २ जना, बलात्कार घटनामा ५ जना, बलात्कार पीडितको मृत्यु एक जना, बलात्कार प्रयासमा ३ जना, घरेलु हिंसामा १६ जना, बालिका बलात्कारमा १२ जना, बालयौन दुर्व्यवहार तथा बालयौन दुरुपयोगमा ७ जना बालिका पीडित भएका छन् । जातीय विभेदको घटनामा एक जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख कूलमान विश्वकर्माले नागरिकको आधारभुत अधिकारनै मानव अधिकार भएकोले पुरा गर्नका लागि नागरिकलाई सशक्तिकरण गर्दै अघि बढ्नु पर्ने बताए। त्यस्तै, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक हिंसा पीडित राहत कोष, अपांगता तथा जेष्ठ नागरिक सामाजिक सुरक्षाका थप कार्यक्रम ल्याएको बताए । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मानवअधिकार संरक्षणका लागि सरकारले स्थापना गरेका संरचनाहरु भरपुर प्रयोगमा ल्याउन आग्रह गरे। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले महिलामाथी हुने कुनैपनि हिंसा र यौनजन्य घटनामा शुन्य सहनशीलता रहने बताउँदै मानवअधिकार वर्ष पुस्तकमा प्रकाशनका लागि आएका मानवअधिकार विरोधी घटनालाई जस्ताको तस्तै उल्लेख गरिदिन अनुरोध गरे ।

गैसस महासंघका अध्यक्ष तोलाकुमारी पाठकले अहिलेको समाजमा लैङ्गिकताको आधार भने हिंसाको तौर तरिका फेरिएका छन् । सामाजिक सञ्जाल जस्ता प्लेटफर्म मार्फत हुने हिंसाहरू बढिरहेका छन्। यसबाट हामी सबै सजक हुनुपर्ने आवश्यक रहेको उनले बताए । कार्यक्रममा महिला अधिकार रक्षक गायत्री खतिवडा, प्रेरणा बस्नेत, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, रोयम नेपालका हरिशरण धिताल लगायतले मानवअधिकारको सवालमा साझा प्रतिवद्धता र सामाजिक न्यायका लागि विविध आयामहरुमा काम गर्नु पर्नेमा जोड दिए।

कार्यक्रमकै अवसरमा धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ ।

मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने संजालको अध्यक्षमा स्नेह श्रेष्ठ चयन गरिएको छ । उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा करिस्मा परियार र सदस्यहरुमा आकाश लम्साल, सीता शाक्य, भुपेन्द्र लम्साल, रोशन थापा, कौशिला भट्टराई, रयिबा खातुन, रंजिता परियार, विपना पोखरेल, प्रतिमा अर्याल, प्रगति अर्याल, र रस्मी श्रेष्ठ रहेका छन् ।

युवाहरुकाे मानवअधिकार रक्षक संजाल जिल्लामा पहिलाे पटक गठन गरिएकाे हाे ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट