





























काठमाडौं– उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ मा अवस्थित डुवाङ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडासहित विद्यालयका लागि आवश्यक खेलकुद सामग्री वितरण गरिएको छ । दुर्गम बस्तिका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने उद्देश्यले न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।




देशभरका महिला राइडरहरूको संस्था दुई पाङ्ग्रे क्विन्स (Dui Pangre Queens) ले धादिङमा सामाजिक सेवा र दिगो पर्यटन प्रवद्र्धनलाई जोड्ने उद्देश्यले “Wheels of Warmth : Ride for Children and Community” नामक राइड आयोजना गरेको थियो । धादिङ आइपुगेका दुई पाङ्ग्रे क्विन्स टोलीले दुर्गम वस्तिका बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षाले न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको दुई पाङ्ग्रे क्विन्सका संस्थापक तुलसा पहाडीले बताइन् ।

न्यानो कपडा तथा शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । जाडोमा न्यानो कपडा दिएर र विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्ने संस्थाप्रति अभिभावक तथा शिक्षकहरु पनि खुसी बनेका छन् । यस्ता सहयोगले शैक्षिक गुणस्तर सुधारका लागि मद्दत मिलेको उनीहरुको भनाई छ ।
धादिङको विकास तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षाले धादिङको यात्रा तय गरिएको दुई पाङ्ग्रे क्विन्सकी प्रमोटर मोटो भ्लगर सुस्मिता अधिकारीले बताइन् । ‘इस्वी सम्वत् २०२३ सालदेखि काम गर्दै यस संस्थाले संघीय राजधानी काठमाडौंसँगै जोडिएको र अथाह संभावना बोकेको धादिङ जिल्लालाई देशभर चिनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं । रुवीभ्यालीको पाङसाङ भनेपछि मानिसहरु हुरुक्कै हुन्छन् । हाम्रो टोली पुगेर फर्कियो । धादिङ साँच्चै स्वर्ग छ, एक पटक घुम्न आउनुहोला’ उनले भनिन् ।

न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको सम्बोधन गर्दै रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले दुई पाङ्ग्रे क्विन्सका महिला राइडरहरुलाई धन्यवाद दिदै पर्यटन प्रवद्र्धनमा पनि जोड दिन आग्रह गरे । पछाडी परेको रुवीभ्यालीलाई सबैले साथ र सहयोग गर्न सके रुवी जस्तै चम्किने उनले बताए ।

राइडरका क्रममा महिला राइडरहरूको टोली धादिङकै सर्वोच्च मोटरेबल पास ‘पाङसाङ पास’ सम्म पनि पुगेका थिए । महिला राइडरहरू अग्रपङ्क्तिमा रहेर पाङसाङ पाससम्म पुगेर धादिङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताएका छन् ।

धादिङ आइपुगेका महिला राइडरको समूहले नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानासँग पनि भेटघाट गरि धादिङको विकास र पर्यटन प्रवद्र्धनको क्षेत्रमा छलफल गरेका थिए ।


महिला राइडर टोली धादिङबेसी, खनियाबाँस, शेर्तुङ, तिप्लिङ, पाङसाङ, पार्वती कुण्ड, रसुवा, नुवाकोट हुदै संघीय राजधानी काठमाडौं फर्किएका छन् ।

स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
