





























धादिङ– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका आठ नम्बर व्यूरो सेक्रेटरी एवम् केन्द्रीय सदस्य श्यामकुमार केशी ‘दीपक’ ले संसदीय निर्वाचन बहिष्कार गर्नु पर्ने भन्दै बहिष्कार गर्न अनुरोध समेत गरेका हुन् ।




संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको संसदीय व्यवस्थाले निरन्तरता पाएसँगै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था झनै विकराल बन्दै गएको उनले बताए । जिल्ला समिति धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उनले निर्वाचनको औचित्य नरहेकोले सहभागी नहुने बताएका हुन् ।

पार्टीले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनले संदीय व्यवस्थाको असफलता उजागर गरेको उनले दावी गरे । ‘सरकार न त जनआन्दोलनको मर्म अनुसार रहेको न त संविधान र कानुनको मापदण्ड अनुसार बनेको छ । ‘कठपुतली सरकार’को हो । जेन्जीहरुले उठाएका सामाजिक सञ्जाल सञ्चालन बाहेक कुनै पनि माग पुरा भएको छैन । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री लगायका मागहरु छायाँमा परेका छन्’ उनले भने– ‘अहिलेको सरकार न जेन्जीको न त नेपाली जनताको सरकार हुन सकेको छ । भ्रष्टाचार मौलाउँदै गएको, रोजगारीको अवस्था कमजोर भएको र त्यसकै कारण युवाहरूको पलायन बढ्दै गएको अवस्थामा निर्वाचन भन्दा स्वाधिन संयुक्त सरकार गठनको आवश्यकता हो ।’

पत्रकारहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै उनले अहिलेको सरकार नै असंवैधानिक रहेको र निर्वाचनको पनि कुनै औचित्य नरहेकाले निर्वाचन वहिष्कार गरिएको उनले बताए । त्यस्तै, समाजवाद र विस्तारवादद्वारा निर्देशित संसदीय निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्दै स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्नु नै अहिलेको एकमात्र वैकल्पिक मार्ग भएको धादिङका इन्चार्ज अमृत अधिकारीले बताए । ‘निर्वाचन भन्दा पनि देशको विकास र निकाश पहिलो आवश्यकता हो । निर्वाचन बहिष्कार मात्र होइन, सडकमा उत्रिएर निर्वाचनको बहिष्कारसँगै विरोध पनि गर्नेछौं’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
