





























धादिङ– धादिङबेसीमा भोलि अर्थात पुस ९ गतेदेखि १२ गतेसम्म स्व. मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । जिल्ला भलिबल संघ धादिङले आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल खेलाडीहरुको टोली सहभागी हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ ‘तिलक’ ले बताए ।
प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल टोलीहरूको सहभागिता रहनेछ । जसमा धादिङ(ए र बी), नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका टोली सहभागी हुनेछन् । खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने नियम रहेकाले काठमाडौं, भक्तपुर र ललितपुरका टोलीहरू प्रतियोगितामा सहभागी छैनन्।

प्रतियोगिताको पहिलो दिन भोलि ६ वटा खेल सञ्चालन हुनेछन्। खेल तालिका अनुसार बिहान ८ बजे धादिङ ‘ए’ र मकवानपुर, ९ बजे नुवाकोट र रामेछाप, १० बजे चितवन र सिन्धुपाल्चोक, ११ बजे मकवानपुर र सिन्धुली, मध्यान्ह १२ बजे रसुवा र धादिङ ‘बी’ तथा दिउँसो २ बजे धादिङ ‘ए’ र सिन्धुलीबीच खेल हुने छन् ।
प्रतियोगितामा विजेता टोलीले नगद २ लाख रुपैयाँ, उपविजेता टोलीले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै स्पाइकर, सेटर, डिफेन्स, सर्भर र बेस्ट प्लेयरसहित ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीहरूले खाना तथा आवासको व्यवस्था आफैं गर्नुपर्ने जनाइएको छ । होटल व्यवसायीहरूसँग समन्वय गरी कम शुल्कमा खाना तथा आवासको व्यवस्था गर्न आग्रह गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष गुरुङले बताए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
