धादिङमा आसन्न निर्वाचनबारे पत्रकारसँग अन्तरक्रिया

धादिङमा आसन्न निर्वाचनबारे पत्रकारसँग अन्तरक्रिया

काठमाडौं–धादिङमा आसन्न निर्वाचनका विषयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता कार्यान्वयन र निर्वाचन तयारीका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Advertisement

धादिङ जिल्ला अदालतका न्यायाधिष एवम् मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने बताएका छन् । ‘आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्न लगभग सबै तयारी पुरा भएको छ । पत्रकार आचारसंहिता र निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गरि निर्वाचन सफल बनाउन सबै लाग्नु पर्छ’ उनले भने– ‘राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सबै सरोकारवालाले आचारसंहिताको पूर्ण पालना गर्ने र गराउनेमा जोड दिनु पर्छ ।सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भूमिका रहन्छ । यो हामी सबैको साझा जिम्मेवारी पनि हो ।’

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र निर्वाचन प्रशासन पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए । ‘निर्वाचन आचारसंहिता पालना गराउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ । सहकार्य, समन्वय तथा सबैको पहलमा आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्न सकिन्छ । शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्’ उनले भने ।

निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत एकराज अधिकारीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन, सामग्री ढुवानी तथा कर्मचारी व्यवस्थापनका कामहरू योजनावद्ध रूपमा अघि बढिरहेको बताए । आचारसंहिता उल्लंघन भएमा तत्काल जानकारी गराउन सञ्चारकर्मीहरूसँग आग्रह समेत गरेका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा रणनीति तयार भइसकेको बताए । मतदान अघिदेखि मतगणना सम्पन्न नहुँदासम्म शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिने छ । आसन्न निर्वाचन शान्तिपूर्ण अवस्थामा सम्पन्न गरिने उनले बताए ।

अन्तरक्रियामा सञ्चारकर्मीहरूको तर्फबाट नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्ष राजाराम शर्मा, कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक पोषनाथ अधिकारी लगायतले निर्वाचनको निष्पक्षता, सूचना प्रवाहको सहजता, पत्रकारको सुरक्षा तथा आचारसंहिता कार्यान्वयनमा समान व्यवहार हुनुपर्ने विषयमा जोड दिएका थिए ।

२ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा २ लाख ७५ हजार २ सय ८० मतदाताका लागि ३१० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । धादिङमा क्षेत्र नं. १ मा २३ र क्षेत्र नं. २ मा २४ गरी कूल ४७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट