मृत्युलाई जितेको थलोबाटै रामबहादुर भण्डारीको चुनावी अभियान सुरु

मृत्युलाई जितेको थलोबाटै रामबहादुर भण्डारीको चुनावी अभियान सुरु

धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी, धादिङले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले जनयुद्धका क्रममा गोली लागेर मृत्युलाई जितेको स्थान नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट अभियानको शुभारम्भ गरेका हुन्।

Advertisement

जनयुद्धका क्रममा २०५५ साल जेठ १९ गते आफ्नै घरबाट नेपाल प्रहरीले पक्राउ गरी गोली प्रहार गरेको घटनाको स्मरण गर्दै भण्डारीले गोलाभञ्ज्याङलाई आफ्नो ‘पुनर्जन्म स्थल’ भएको बताए । ‘प्रहरीले दुई वटा गोली प्रहार गर्दा छाती छेडिएको थियो, फोक्सो छिया छिया भएको थियो । उनीहरूले मलाई मृत घोषणा गरे’ उनले भने,– ‘तर गोलाभञ्ज्याङबासीको साहसिक सहयोग र त्यागका कारण मैले नयाँ जीवन पाएँ ।’

प्रहरीले आफ्नै घरबाट गिरफ्तार गरि साविक ज्यामरुङ–४ गोलाभञ्ज्याङमा बायाँ छातीमा गोली प्रहार गरी मृत घोषणा गरिएको उनले स्मरण गरे । ‘स्थानीय बासिन्दाको साहसिक सहयोगमा धादिङ अस्पताल हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसम्म उपचारका लागि लगियो । उपचारपछि नयाँ जीवन पाएँ । तपाईहरु मेरो बाआमा हुनुहुन्छ’ उनले भने ।

‘मेरो पहिलो जन्म आगिञ्चोकमा भए पनि दोस्रो जन्म गोलाभञ्ज्याङ नै हो । त्यसैले, मैले मेरो चुनावी अभियानको शुभारम्भ यहिबाट गरेको हो’ उनले भने– ‘मलाई मृत्युको मुखबाट बचाएर जीवनदान गर्ने तपाई सबैप्रति मेरो अनुरोध छ, मलाई जिताएर काम गर्ने अवसर दिनुस् । म यहिबाटै विकासको सुरुवात गर्न चाहन्छु ।’

नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा रामबहादुर भण्डारी र समानुपातिकतर्फ इन्दिरा ढुंगानाले उम्मेदवारी दिएका छन् । भण्डारी धादिङ जिउँदो सहिदको उपनामले चर्चित छन् । चार दशक भन्दा लामो समय र जीवन नै राजनितिमा विताएका भण्डारीले चुनावी स्वाद लिने अवसर भने पहिलो पटक पाएका हुन् ।

समानुपातिकतर्फका उम्मेदवार इन्दिरा ढुंगानाले देशको विकास र नागरिकको चाहना अनुसार काम गर्ने पार्टी भएको भन्दै नेपाली कम्युनिस्ट पार्टीलाई मतदान गरि विजयी गराउन मतदातालाई अनुरोध गरेकी छिन् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट