





























धादिङ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) धादिङबेसी आउने कार्यक्रम तय भएसँगै बजार क्षेत्रमा निकै चहलपहल देखिएको थियो। बालेनको स्वागतका लागि समर्थकहरू धादिङबेसीको पुछारबजारदेखि सिरानबजारसम्म फूलका गुच्छा र रास्वपाको झण्डा बोकेर लामो समयदेखि पर्खाइमा बसेका थिए। तर, स्वागत त परको कुरा, धेरै समर्थकले बालेनलाई नजिकबाट देख्नसमेत पाएनन्।
प्रत्यक्षदर्शीका अनुसार बालेन सवार गाडी तीव्र गतिमा बजार परिक्रमा गर्दै फर्किएको थियो। पुछारबजार र बीचबजार क्षेत्रमा रहेका केही समर्थकले करिब पाँच सेकेन्ड जति गाडीभित्रबाट हात हल्लाएको देखे पनि अन्य स्थानमा प्रतीक्षारत समर्थकले अनुहारसमेत देख्न नपाएको गुनासो गरेका छन्।
सवारी साधनबाट नउत्रिए पनि कम्तीमा गाडीबाटै अभिवादन गर्ने अपेक्षा गरेका समर्थकहरू निराश बनेका हुन् । बजार क्षेत्रमा रोकिएर भेटघाट हुने आशामा बसेकाहरू बालेन द्रुत गतिमा गाडीबाट नओर्ली फर्किएपछि आक्रोशित बनेका थिए ।
बालेनकै प्रभावमा यसपटक मतदान गर्ने निर्णयमा पुगेको बताउने एक मतदाताले नेपालपथसँग भने, ‘यस्ता नेता र दललाई कसरी मतदान गर्ने? जनताका समस्या राख्ने र समाधान गर्ने वातावरण नै छैन भने चुनाव जितेपछि के होला?’ उनले रास्वपाप्रति असन्तुष्टि जनाए।
हुइँकिएको गाडीमा बालेन्द्र शाहलाई स्पष्ट रूपमा नदेखेपछि धेरैले ‘खै त बालेन?’ भन्दै प्रश्न उठाएका थिए। केहीले त गाडी मात्रै आयो कि बालेन पनि आयो भन्ने नै थाहा नभएको प्रतिक्रिया दिए । स्थानीय राजकुमार श्रेष्ठले भने, “रास्वपाको क्रेज त छ, तर यस्ता गतिविधिले निर्वाचनमा असर पार्न सक्छ।”
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
