उद्घोषण तालिम लिएका धादिङ सातदोबाटोका महिलाहरु भन्छन्– ‘अब कार्यक्रम चलाउँछौं’

उद्घोषण तालिम लिएका धादिङ सातदोबाटोका महिलाहरु भन्छन्– ‘अब कार्यक्रम चलाउँछौं’

काठमाडौं– धादिङको गङ्गाजमुना गाउँपालिका–४ सातदोबाटोका शान्तिमायाँ घलेले ५ दिने उद्घोषण तालिम लिइन् । अहिले उनी कार्यक्रमको उद्घोषण र कार्यक्रममा भाषण गर्न सक्ने बनेकी छिन् । ५ दिने उद्घोषण तालिमको समापन समारोह समेत आफै चलाइन् ।

गाउँमा उद्घोषण तालिम आउदैछ भन्ने थाहा पाएर तालिममा सहभागी भएकी शान्तिमायाँ भन्छिन्– ‘कार्यक्रम सञ्चालन गर्ने तरिका र तयारी लगायतका विषयमा जानकारी भयो । बोल्न थालेपछि आउने रहेछ । अब विना डर र लाज कार्यक्रम चलाउन र आफ्ना कुरा राख्न सक्छौं । गाउँमा हुने कार्यक्रम आफै चलाउने हो ।’

धादिङको गङ्गाजमुना गाउँपालिकाले दुर्गम गाउँका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उद्घोषण तालिमपछि उनीहरु कार्यक्रम सञ्चालन र भाषण गर्न सक्ने भएका हुन् । शान्तिमायाँ जस्तै अनिशा श्रेष्ठ पनि कार्यक्रम चलाउन सक्ने भएको बताउँछिन् । सुरुका दिनमा परिचय राख्न डराउने उनी अहिले मञ्चमा ढुक्कले भाषण गर्न सक्ने भएकी छिन् । ‘गाउँमा हुने कार्यक्रम सञ्चालन गर्दै अनुभव बटुल्ने छौं । ८/१० वटा कार्यक्रम सञ्चालन गरेपछि राम्रो बोल्न सक्ने अपेक्षा छ’ उनले भनिन् ।

Advertisement

गाउँका कार्यक्रममा भाषण गर्न लगाउदा बोल्न नसकेको उदाहरण सम्झदैँ तालिममा सहभागी हिरामाया श्रेष्ठले अब कार्यक्रम संचालन गर्न सक्ने बताइन् । ‘त्यो दिन सम्झदा अहिले पनि मन आत्तिन्छ । तर यो तालिम लिएपछि निर्धक्क बोल्न सक्ने भएको छु । डर लाग्दैन, तयारी गरेपछि कार्यक्रम चलाउन र भाषण गर्न सक्ने भएँ’ उनले भनिन् ।

उनले आफ्नो कुरा निर्धक्कसंग राख्न सहज भएको बताइन् । ‘उद्घोषकले के–कस्ता कुरामा ध्यान दिनुपर्छ, कसरी तयारी गर्ने, उद्घोषकले गर्न हुने र नहुने कामहरु के–के हुन्, कार्यक्रमको ढांचा र मोडेल लगायतका विषयमा सिक्यौं ।’ उनले भनिन् ।

गङ्गाजमुना गाउँपालिका उद्यम विकास शाखाका प्रमुख खला कुमारी ओलीले महिला दिदीबहिनीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र सहभागीले गरेको प्रस्तुतिले उदेश्य पूरा भएको बताइन् । ‘तालिममा लिएका ज्ञानहरु व्यवहारमा लागु गर्नु पर्छ । अन्य तालिमहरु पनि ल्याउदैछौं । तपाइँहरूको चाहना र आवश्यकता अनुसार पालिकाले विभिन्न खालका तालिम तथा योजनाहरु ल्याएका छौं’ उनले भनिन् ।

कृषि पर्यटन र पूर्वाधार समृद्ध गङ्गाजमुनाको मूल आधार भन्ने मर्मका साथ महिलाहरूलाई उद्यमशीलतासँग जोड्न उद्घोषण तालिम आयोजना गरिएको हो ।गङ्गाजमुना गाउँपालिका उद्यम विकास शाखा र गङ्गाजमुना गाउँपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।

चैत्र १७ गते देखि सञ्चालन गरिएको तालिम आज शनिबार एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिममा गङ्गाजमुना गाउँपालिका-४का २५ जना महिला दिदीबहनीहरु सहभागी रहेका थिए। पाँच दिनसम्म सञ्चालन रहेको तालिममा पत्रकारहरु अर्जुन श्रेष्ठ र सन्तोषराज श्रेष्ठले सहजीकरण गरेका थिए।

पाँच दिने उद्घोषण तालिमको सिकाइ उपलब्धि देखेर आफु भावुक बनेको गाउँपालिका–४ का वडा अध्यक्ष प्रेम बहादुर घलेले बताए । ५ दिनको तालिमबाट धेरै कुरा सिकेको भन्दै व्यवहारमा लागु गर्न उनले आग्रह गरे ।

‘नाम भन्न नसक्ने दिदिबहिनीहरु मञ्चमा आएर कार्यक्रम चलाउने र भाषण गरेको देख्दा म आफै दंग परे । तपाईहरुको यो प्रगति देखेर खुसी लाग्यो । थप कार्यक्रम आवश्यक परे माग गर्नुहोला । तपाईहरुको क्षमता विकास लगायतका हरेक क्षेत्रमा वडाले योजना ल्याउन तयार छ’ उनले भने ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट