अपाङ्गता भएकाहरूको अधिकार सुनिश्चित गर्न धादिङमा ५ दिने तालिम 

  • नेपाल पथ
  • २०८२ फागुन २९, शुक्रबार (२ मिनेट अघि)
  • १० पटक पढिएको
अपाङ्गता भएकाहरूको अधिकार सुनिश्चित गर्न धादिङमा ५ दिने तालिम 

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा स्थानीय अपाङ्गता समन्वय समिति पदाधिकारीहरुको सशक्तिकरण तथा क्षमता विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरुको हक–अधिकारको कार्यान्वयन र उनीहरुको पहुँच सुनिश्चित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

“अपाङ्गताको पहिचान, रोकथाम र न्यूनीकरणमा हाम्रो अभियान” भन्ने मूल नारासहित अपाङ्गता पुनर्स्थापन समाजको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिम जिल्ला समन्वय समितिको समन्वय तथा सामाजिक विकास कार्यालय गजुरीको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

तालिममा सहभागी सामाजिक विकास शाखाका प्रमुख उर्मिला थपलियाले अपाङ्गता भएका व्यक्तिहरुको हक–अधिकार सुनिश्चित गर्न सम्मानजनक सहभागिता र अपाङ्गतामैत्री वातावरण निर्माण गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सिकेका ज्ञान र सीपलाई स्थानीय स्तरमा प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरुको आवाजलाई सम्बोधन गर्ने तथा उनीहरुको हक–अधिकार सुनिश्चित गर्न थप सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सहभागी गुणराज खतिवडाले सरकारी कार्यालयहरू अपाङ्गता मैत्री बन्नुपर्नेमा जोड दिए। उनले योजना छनोट गर्दा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा समावेशी नीति तथा कानुन निर्माण गर्नुपर्ने, पालिकामा तथ्याङ्क संकलन गरी सोही आधारमा योजना बनाइनुपर्ने बताए। नीति तथा कानुन बने पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आवश्यक रहेको उनले बताए।

नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले सञ्चार माध्यमले अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकताका साथ उठाउँदै आएको बताए। उनले अपाङ्गता सम्बन्धी विषय नीति निर्माण र सदनसम्म पुग्न सके मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने बताए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए। नीति तथा कानुन कार्यान्वयनमा चुनौती भए पनि सबै पक्ष एकजुट भएमा अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहज बनाउन सकिने उनले उल्लेख गरे।

तालिमका प्रशिक्षक राजु बस्नेतले बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले कानुन निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुको आधारभूत आवश्यकतालाई ध्यानमा राख्नुपर्ने र कार्यान्वयन नभएसम्म उनीहरुको जीवनमा अपेक्षित परिवर्तन आउन नसक्ने बताए।

नेपाल पत्रकार महासङ्घ धादिङका सभापति सीताराम अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिने सबै कार्यालय अपाङ्गता मैत्री हुनुपर्ने बताए। लामो समयदेखि उठ्दै आएको यो सवाल अझै पूर्णरूपमा सम्बोधन हुन नसकेको उनले बताए। स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क अद्यावधिक गर्नेदेखि नीति, कार्यक्रम र बजेटमा उनीहरुलाई प्राथमिकता दिनुपर्ने उनले जोड दिए।

जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विकले अपाङ्गता भएका व्यक्तिहरुको हक–अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गराउन जिल्ला समन्वय समितिले निरन्तर समन्वय गर्दै आएको बताए। उनले पछिल्ला वर्षहरूमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै धेरै सुधार आवश्यक रहेको बताए।

बागमती प्रदेश सभाका सदस्य गोविन्द लम्सालले अपाङ्गता सम्बन्धी बनेका नीति तथा कानुन कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताए। नीति तथा कानुन बने पनि कार्यान्वयन पक्ष कमजोर देखिएको उल्लेख गर्दै आगामी दिनमा आवश्यक कानुन निर्माण र प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने उनले बताए।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा नीलकण्ठ नगरपालिका, धुनीवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षा, स्वास्थ्य र सुरक्षा शाखाका प्रतिनिधि, अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो।

अपाङ्गता पुनर्स्थापना समाजका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता भएका व्यक्तिहरुले ऐन–कानुनले दिएका अधिकार समेत पूर्ण रूपमा पाउन नसकेको बताउँदै स्थानीयदेखि संघीय तहसम्म कार्यान्वयन सुनिश्चित गर्न तालिम आयोजना गरिएको बताए। उनले यस तालिमबाट सिकेका ज्ञान र सीपले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पाँच दिनसम्म चलेको तालिममा अपाङ्गतालाई हेर्ने दृष्टिकोण, अपाङ्गताको परिभाषा, प्रकार, वर्गीकरण,  अपाङ्गता भएकाहरुको समस्या तथा चुनौति, अवसर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, राज्यले दिने सेवा, सरकारको नीति कार्यक्रम र बजेट यस्ता कार्यक्रमको दिगोपना र अपाङ्गता समन्वय समितिको काम कर्तव्य र अधिकार जस्ता विषयमा प्रशिक्षक राजु बस्नेतले सहजीकरण गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट