





























काठमाडौं– बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गतका निजी तथा गैरसरकारी अस्पतालहरूलाई स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला पक्षबीच भएको सहमतिअनुसार स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, विदा, उपदान, सामाजिक सुरक्षा तथा बीमा लगायतका सुविधा सुनिश्चित गर्नुपर्ने स्पष्ट गरिएको छ। श्रम ऐन, २०७४ बमोजिम श्रमिकका हकहित सुनिश्चित गर्नु रोजगारदाताको कानुनी दायित्व भएको पनि मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयका अनुसार दर्ता तथा नवीकरण भएका केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ स्टाफ र अन्य स्वास्थ्यकर्मीहरूले तोकिएको न्यूनतम पारिश्रमिक तथा सुविधा नपाएको भन्दै उजुरी तथा गुनासोहरू प्राप्त भएका छन्। यस विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको जनाएको छ।
पत्रमा सबै सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई प्रचलित कानुनबमोजिम न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिइएको छ। निर्देशनको पालना नभएमा कानुनी कारबाही गरिने र मन्त्रालयबाट अनुगमन तीव्र पारिने चेतावनी पनि दिइएको छ।
मन्त्रालयले आवश्यक परे कानुनी तथा प्रशासनिक कदम चाल्न बाध्य हुने उल्लेख गर्दै सबै निकायलाई निर्देशानुसार कार्यान्वयन गर्न अनुरोध गरेको छ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
