





























काठमाडौं– नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रसाद ढुंगानाले नगरपालिकाले निशुल्क तथा अनिवार्य शिक्षामा जोड दिएको बताए । धादिङको नीलकण्ठ नगरपालिका– ७ मा रहेको सुनौलो भैरवी माध्यमिक विद्यालयमा विद्यार्थीसंग मेयर कार्यक्रमको सम्बोधन गर्दै प्रमुख ढुंगानाले गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले ठूलो रकम खर्चिको बताएका हुन् ।


‘एक देखि १२ कक्षासम्म अध्ययन गर्ने बालबालिकाले कुनै पनि बहानामा शुल्न तिर्नु पर्दैन । भौतिक पूर्वाधार, शैक्षिक सामाग्री, शिक्षकलाई तालिम, पुस्तकालय लगायत शिक्षाको क्षेत्रमा आवश्यक रकम नीलकण्ठ नगरपालिकाले लगानी गर्छाै’ उनले भने ‘निशुल्क मात्र होइन, नगरपालिकाले गुणस्तरिय शिक्षा प्रदान गर्न खोजेको हो । विद्यालयको नतिजा राम्रो आउनु पर्छ ।’
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुले विषयगत शिक्षकको अभाव, शैक्षिक सामाग्री तथा भौतिक संरचनाको अभाव, विद्यालयसम्म आइपुग्ने सडक सञ्जालको समस्या, विज्ञान प्रयोगशालामा सामाग्रीको अभाव, व्यवस्थापन समिति गठन, शिक्षक नियुक्ति र सरुवामा राजनीतिक हस्तक्षेप लगायतका विषय उठाएका थिए ।
छलफलमा उठेका विषयको नगर प्रमुख ढुंगानाले नगरपालिकाको श्रोत साधनले धानेसम्म विद्यालय सुधारमा लाग्ने बताए । ‘विषयगत शिक्षकको व्यवस्था छिट्टै गर्ने, खेलकुदका सामाग्री तत्काल उपलव्ध गराउने, विज्ञान प्रयोगशालाको स्तर उन्नती गर्ने र भौतिक पूर्वाधारमा आगामी वर्षको कार्यक्रममा बजेट व्यवस्था गर्नेछौं । शैक्षिक संस्था राजनिति गर्ने थलो होइन । विद्यालयमा राजनीतिक हस्तक्षेप हुने छैन ’ उनले भने ‘नगरपालिकाले छिट्टै बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने तयारीमा छ । अहिलेका बालबालिका भोलिका कर्णधार हुन् । विद्यालय पठाउँदैमा मात्रै बालबालिकाको पढाई राम्रो हुदैन । शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहकार्य तथा समन्वयमा मात्रै गुणस्तरिय शिक्षा प्रवाह गरि शिक्षामा फड्को मार्न सकिन्छ । अनि मात्रै नगरपालिकाले गरेको लगाानी सार्थक हुन्छ ।’
त्यस्तै, नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माले कक्षा १२ सम्मको निशुल्क शिक्षाले शैक्षिक क्षेत्रको उन्नयनका लागि ठूलो सहयोग पुगेको बताए । ‘शिक्षामा हिजो गरिएको लगानीको प्रतिफल आज देखिदैन । तर आज गरिएको लगानीले नगरबासी बालबालिकाको सुन्दर भविष्य सुनिश्चित छ’ उनले भने ‘निशुल्क शिक्षा तथा गुणस्तरि शिक्षाका लागि नगरपालिकाले कुल बजेटको ४५ प्रतिशत शिक्षामा लगानी गरेको छ । हामीले ठूलो सम्भावना र जोखिम मोलेर यति ठूलो रकम शिक्षामा लगानी गरेका हौं । तपाई विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले गम्भिर रुपमा लिनु पर्छ । बजेट छुट्याएर मात्र हुदैन । तपाईहरुले जागरुक भएर लाग्नुभयो भने केही वर्षमा नीलकण्ठ नगरपालिकाले शिक्षामा नसोचनिय फड्को मार्ने छौं ।’
त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले शिक्षामा गरेको यो ठूलो लगानी सदुपयोग गरे शिक्षाले निकै फड्को मार्ने बताए । ‘आफ्नो कूल बजेटको ४५ प्रतिशत बजेट शिक्षामा लगानी हुनुले अन्य विकास निर्माणका क्षेत्रमा बजेट कम भएका छन् । तर विगतमा विकास निर्माणमा गरिएको लगानी भन्दा शिक्षामा गरिएको यो लगानीले शिक्षित तथा परिस्कृत समाज अनि समृद्ध समाज निर्माण हुनेछ‘ उनले भने ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टले विद्यालयमा धेरै सुधार गर्नु पर्ने रहेको बताए । बालबालिकाको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई पनि नरहेको भन्दै विद्यालयको शैशिक सुधार, बोलमेैत्री स्थानीय शासन, पूर्वाधार विकास, आर्थिक पारदर्शिता लगायतको विषयमा जिम्मेवार रहन उनले सबैमा आग्रह गरे ।
विद्यालय सुधारका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट सुझाव लिने, शिक्षामा नगरपालिकाबाट भैरहेका कामहरु जानकारी गराउने, बालमैत्री स्थानीय शासन अवलम्वनका लागि प्रतिवद्धता लिने लयायतका उद्देश्यले विद्यार्थीसंग मेयर कार्यक्रम आइतबार सुनौलो भैरवी माध्यमिक विद्यालयमा गरिएको हो । छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पाठकले विद्यालयले गरिरहेका कार्यक्रमहरु र आगामी योजनाहरुका बारेमा जानकारी गराउदै आगामी दिनमा विद्यालयलाई थप परिस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यार्थीसँग मेयर“ जस्तो कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ बनाउने एउटा उत्कृष्ट पहल भएको सहभागीहरूले बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि अधिकारीले शिक्षक, विद्यार्थी, अभिभावक सबैको प्रयासले मात्रै शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने बताए । घर आँगनको स्कुललाई विकल्पमा होइन, प्राथमिकतामा पर्ने बनाउने प्रयासमा रहेको उनको भनाई छ ।
विद्यार्थीसंग मेयर कार्यक्रमलाई रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले सहजीकरण गरेका हुन् । विद्यार्थीसँग मेयर कार्यक्रम यस अघि धुवाकोटमा रहेको सरस्वती माध्यामिक विद्यालयमा गरिएको थियो । नीलकण्ठ नगरपालिका भित्र रहेका केही विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

