धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक असोज १ देखि पूर्ण रुपमा सञ्चालन हुने भएको छ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक अवरुद्ध छ । सडकको नयाँ ट्रयाक खुलेसँगै रोकिएका ठुला सवारी साधनहरु आइतबार पास गरिएको हो ।


अवरुद्ध कृष्णभीर सडक असोज १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउन तयारी भइ रहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताएकी छन् । ‘कृष्णभीरमा सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम भइरहेको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ’ उनले भनिन् ।
कामका लागि आवश्यकता अनुसार उपकरण परिचालन गरिएको छ । दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन् । ग्रेड मिलाइसकेपछि रोलिङको काम र सबग्रेड तयार भएपछि ग्राभेल गरेर सडक सुचारु गरिनेछ ।
गत भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा कटान गरेर यातायात ठप्प भएको थियो। निरन्तर प्रयासपछि १५ दिनको अवधिमा उक्त क्षेत्रमा नयाँ ट्रयाक खोल्न सफलता मिलेको हो।
ट्रयाक खुलेर परीक्षण सफल भए पनि असोज १ गतेदेखि मात्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागले जनाएको छ । निर्माण र स्तरोन्नतिको काम भइरहेकाले कृष्णभीर खण्डबाट सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ । यस अवधिमा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशनालयको पालना गरिदिन पनि सडक विभागले सर्वसाधारण र सवारी चालकहरूसँग अनुरोध गरेको छ।


