धादिङ– जिल्लाको सदरमुकाम धादिङबेशी जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको परेवाटार–मास्टार सडक आज आइतबार दिनभर बन्द गरेर मर्मत गरिने भएको छ ।


सडक मर्मतको काम बाँकी रहेकाले बन्द गरेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताएकी छन् । ‘सडकका विभिन्न स्थानमा भइरहेको मर्मतसम्भारको काम अझै बाँकी छन् । अहिले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडकमा सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरि मर्मत गर्न लागिएको हो’ उनले भनिन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलामा रहेको पुल बगाएपछि धादिङबेशी तथा उत्तरी क्षेत्र जोड्न वैकल्पिक मार्गका रूपमा परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक प्रयोग हुँदै आएको छ । तर सडक राम्रो नहुँदा यात्रुहरुले सास्ती व्यहोरिरहेका छन् ।
सडकको विभिन्न स्थानमा थप मर्मतसम्भार गर्नुपर्ने भएपछि शनिबार भदौ १७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पनि सडक बन्द गरि मर्मत गरिएको थियो । तर तोकिएको अवधिमा मर्मतसम्भारको काम सम्पन्न नभएपछि आज आइतबार थप समय सडक बन्द गरेर काम गर्न लागिएका हो । आज मर्मत गरेर सकेपछि थप सहज रुपमा आवागमन गर्न सकिने उनले बताइन् ।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेशी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको छ ।

स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
