धादिङ – धादिङको सिद्धलेक गाउँपालिकाका १३ वटा कृषक समूहलाई बाख्रापालन प्रवर्द्धनका लागि २६ वटा ७५ प्रतिशत बोयर जातका ब्याड बोका वितरण गरिएको छ।


नेपाल सरकार, कृषि तथा वन पर्यावरण मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) क्लस्टर इकाइ गोरखाले सञ्चालन गरेको बाख्रापालन प्रवर्द्धन (फलोअप) कार्यक्रमअन्तर्गत बोका वितरण गरिएको हो।
बोयर बोका वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले कृषक समूहलाई बोका हस्तान्तरण गर्दै बाख्रापालन ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएकाले यस्ता कार्यक्रमले कृषक परिवारको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्याल, वडा नम्बर ३ का अध्यक्ष देवबहादुर पुलामी मगर, पशु विकास शाखा प्रमुख डा. चक्र वली तथा पशुपालन विज्ञ डा. रामबहादुर बोगटी लगायतले बाख्रापालनलाई व्यावसायिक बनाउँदै किसानलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए।
आयोजनाले शतप्रतिशत अनुदानमा उपलब्ध गराएका २६ वटा बोयर बोका १३ वटा कृषक समूहलाई हस्तान्तरण गरिएको हो।आयोजनाका अनुसार उच्च उत्पादन क्षमता भएका बोयर बोका वितरणबाट स्थानीय बाख्राको नस्ल सुधार, उत्पादन क्षमता वृद्धि र बाख्रापालन व्यवसायलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट कृषकको आम्दानीसमेत बढ्ने आयोजनाको विश्वास छ।
फ्यानसेप गोरखाले कार्यक्रमको निरन्तर अनुगमनसँगै कृषकलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्राविधिक विजय तामाङले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
