काठमाडौं– चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण धादिङको फुर्केखोला पुल बगायो । पुल बगाएपछि जिल्लाको सदरमुकाम लगायत उत्तरी धादिङ पृथ्वी राजमार्ग तथा प्रमुख शहरसँग सम्पर्क विच्छेद बनेको छ ।
धादिङबेसी–मलेखु (कालुपाण्डे) मार्ग हुँदै पृथ्वी राजमार्ग जोड्ने फुर्केखोला पुल बाढीले बगाएपछि सदरमुकामसहित उत्तरी धादिङको यातायात र जनजीवन प्रभावित बनेको हो । सडक सम्पर्क विच्छेद भएपछि स्थानीय तह र सर्वसाधारणले वैकल्पिक मार्गको प्रयोग तथा खोजी गर्न थालेका छन् ।
धादिङबेसीबाट काठमाडौं जान सुनौलाबजार–फोस्रेटार हुँदै कल्लेरीटारबाट गल्छी निस्कने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, धादिङबेसी–परेवाटार–पिपलटार हुँदै केउरेनीबाट मासटार निस्कने सडक पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी, धादिङबेसीबाट पाल्पा भञ्ज्याङ, हुलाक भञ्ज्याङ, सालबास, चैनपुर हुँदै बुङकोटघाट पुगेर गोरखाको सहिद लखन गाउँपालिका–९ स्थित भीमसेन सत्तल, माझिटार, गण्डकी गाउँपालिकाको दरबुङफाँट, सिउरिनीटार हुँदै बेनीघाट बजार पुग्ने सडक प्रयोग गर्न सकिनेछ ।
धादिङबेसीबाट साँधभञ्ज्याङ–खरी हुँदै बुङकोटघाटबाट भीमसेन सत्तल, माझिटार, दरबुङफाँट र सिउरिनीटार हुँदै बेनीघाट बजार निस्कने अर्को वैकल्पिक मार्ग पनि प्रयोग गर्न सकिन्छ ।
वैकल्पिक बाटाहरु मर्मत कार्य भई रहेको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताए । ‘वैकल्पिक बाटोका गल्छी खण्डहरुमा कुनै पनि समस्या छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत डुबानमा परेको महेश दोभान क्षेत्रको लेदो पन्छाउने कार्य भई रहेको छ’ उनले भने ।
वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउन सम्बन्धित स्थानीय तहले तयारी थालेका छन् । बेनीघाट, माझिटार, बुङकोटघाट, खरी र साँधभञ्ज्याङलगायत स्थानका प्रमुख कच्ची सडकमा ग्राभेल गर्ने तथा आवश्यक मर्मत–सम्भार गरी यातायात सञ्चालनयोग्य बनाउने तयारी भइरहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताए ।
उनका अनुसार सडकलाई तत्काल सञ्चालन योग्य बनाउन ज्वालामुखी, गण्डकी र सहिद लखन गाउँपालिकाबीच समन्वय गरी काम अघि बढाइएको छ। यो बैकल्पिक मार्ग सहज रुपमा प्रयोग गर्न सकिन्छ । फुर्केखोला पुल पुनः सञ्चालनमा नआउँदासम्म वैकल्पिक सडकमार्फत धादिङबेसी र उत्तरी धादिङलाई राजमार्ग सङ्ग जोड्न सहज हुने उनले बताए ।

