





























काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिकाले महिला दिदिबहिनीका समस्या, गुनासा तथा दिदिबहिनीमा आएका परिवर्तनका विषयमा छलफल गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को पूर्व सन्ध्यामा पालिकासँग महिलाका कुरा विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि गुनासो र सफलताका कथा सुन्ने, समस्या पहिचान गर्ने र समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा महिला श्रमिकहरूको हक, अधिकार, अवसर र स्थानीय तहसँगको सम्बन्धबारे छलफल गरिएको छ । महिला दिदिबहिनीले आफुले भोगेका भोगाई, चढ्दै गरेका सफलताका सिँढीका कुरा र पालिकाले पुर्याएको योगदानको चर्चा गरेका छन् । घर गाउँमा मानिस आयो भने भाग्ने महिला दिदिबहिनीहरु, चुलो चौकोमा सिमित उनीहरु अहिले समाज परिवर्तनका संवाहक बनेको बताउँछन् । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनिति कर्मी तथा समाजसेवी भएर समाजमा काम गर्दाका उनीहरुका अनुभवहरुले अन्तरक्रिया कार्यक्रममा उपस्थित भएकाहरु मन्त्रमुग्ध बने ।
‘म नारी हुँ, मैले बोल्न पाएको छु । मेरो आवाजलाई सुनिरहनु भएको छ । यो परिवर्तन हो’ कार्यक्रमकै अवसरमा विद्यार्थीसँग कञ्चन थपलियाले गरेको छलफलमा एक विद्यार्थी छात्राले भनिन् । ‘बाबा आमा चिन्न नसक्ने उमेरमा मेरो बुबा आमाले विवाह गर्नुभयो । पिडाको जञ्जिरमा बाँधिएकी मेरी आमाको कथा सायद अन्य आमाहरुको भन्दा फरक नहोला । तर ति भोगाई र विद्रोहको ज्वालाले आज देशमा परिवर्तन आएको छ । मैले बोल्न पाएको छु । तपाईले सुन्न पाउनुभएको छ । यो परिवर्तन हो’ उनले भनिन् ।
‘म मेरो श्रीमतीको नामबाट चिनिन चाहन्छु । जसले महिलाले नेतृत्व गर्न सक्दैनन् । कमजोर हुन्छन् भन्नेहरुका लागि उत्तर बन्नेछ । श्रीमान श्रीमती एकै सिक्काका दुइ पाटा हुन् । घर होस् वा अफिस सबै ठाउँमा मिलेर काम गर्न मन छ । त्यस्तै खालको जीवनसाथी होस् भन्ने चाहन्छु’ एक छात्रले भने
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को पूर्व सन्ध्यामा पालिकासँग महिलाका कुरा कार्यक्रमको सम्बोधन गर्दै बागमती प्रदेश सभाका पूर्व सांसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कञ्चन खनालले राणाकालिन समयदेखि प्रजातन्त्र, बहुदलीय व्यवस्था, सशस्त्र द्धन्द्ध, जनआन्दोलन लगायतका समयमा महिलाले भोगेका समस्या र गरेका त्यागका विषयमा चर्चा गरिन् । ‘महिलो धर्ती हुन् । महिलाले कहिले पनि म भन्न पाएनन् । तर समाज र देशका लागि निरन्तर लडिरहे । अहिलेको परिवर्तनमा महिला दिदिबहिनीहरुको ठूलो त्याग र बलिदान छ । महिलाको विद्रोहलाई कसैले रोक्न सक्दैनन्’ उनले भनिन्,– ‘अहिले समाज परिवर्तन भएको छ । तर महिला दिदिबहिनीहरुले सोचज जस्तो परिवर्तन बाँकी छ । नेतृत्व र निर्णय गर्ने ठाउँमा महिला दिदिबहिनी पुग्नु पर्छ । महिला श्रमिकहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको हकहित संरक्षणका लागि स्थानीय तहले प्रभावकारी नीति ल्याउनु पर्छ । लिड्गको आधारमा होइन क्षमताको आधारमा जिम्मेवारी बाडिनु पर्छ । अनि मात्रै महिलाले अघि बढ्ने ठाउँ पाउँछन् । निति निर्माण गर्ने तहले यो कुरामा ध्यान दिनुपर्छ ।’
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले महिला दिदिबहिनीहरुलाई पालिकाले विशेष योजना बनाएर काम गरिरहेको बताए । ठूलो रकम महिला दिदिबहिनीहरुका लागि विनियोजन गरिएको छ । आत्मनिर्भर तथा समाजमा स्थापित बनाउनका लागि विभिन्न कार्यक्रम भइ रहेको उनले बताए । ‘महिला प्रमुख प्रशासकिय अधिकृत, महिला कार्यवाहक वडा अध्यक्ष, महिला सचिवले चलाएका पालिका वडाको काम र सफलताले अवसर पाए जुन कुनै काम गर्न सक्छन् भन्ने उदाहरण हो । हामी उहाँहरुको हक अधिकार र परिवर्तनका निमित्त सधै तयार र तत्पर छौं’ उनले भने ।
त्यस्तै, उपाध्यक्ष टापबहादुर श्रेष्ठले अब राजनितिमा महिलालाई अघि सार्नु पर्ने बताए । विभिन्न बहानामा महिलालाई पछि पारिएको छ । निर्णय गर्ने ठाउँमा महिलालाई पुर्याउन सके उनीहरुको आवाज बुलन्द हुन्छ । आगामी ०८४ को निर्वाचनमा वडा तथा पालिकामा महिला दिदिबहिनीलाई अघि सारिनु पर्नेमा उनले जोड दिए । गठबन्धनका कारण उपाध्यक्षमा महिला आउन नसकेपनि महिला दिदिबहिनीका हक हित र उहाँहरुको न्याय हुने गरि काम गरेको उनले बताए ।
त्यस्तै, बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले एउटा महिला सफल बन्न परिवार र श्रीमानको ठूलो हात रहेको बताए । ‘बुबाले छोरा र छोरीमा गरेको समान व्यवहार, श्रीमानले पुरा गरिदिएको सपना, रहर अनि सम्मान, ससुराले छोरा र बुहारीविच नदेखेको भिन्नता यि र यस्तै महा पुरुषहरु जसले मेरो सफलतामा साथ र तालि बजाइ रहे । म भाग्यमानी रहेछु’ आफ्नो जीवनका पाइलाहरुमा साथ दिने महापुरुषहरुको सम्झना र सम्मान गर्दै भावुक हुदैँ उनले भनिन्– ‘महिला भएर जन्मिनुमा गर्व छ । मेरो सफलतामा साथ दिनेहरुप्रति सम्मान छ । पालिका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष लगायत सबैले महिला प्रमुख प्रशासकिय अधिकृत भएर काम गरिरहदा सम्मानसहित काम गर्ने अवसर पाएको छु । पालिकाले महिलाका हक अधिकारको क्षेत्रमा प्राथमिकतामा राखेर काम गरिरहेको छ । हरेक महिलालाई यस्तै अवसर सिर्जना गर्न आवश्यक छ ।’

‘हाम्रा छोरालाई महिलाका मुद्धा महिलाका मात्र नभएर समाजका मुद्धा हो भनेर बुझाउन पर्छ । विभेदका साना छनक पनि समाज परिवर्तनको बाधक हो । यस्ता विभेद अन्त्य गरि सभ्य समाज निर्माणमा बेनीघाट रोराङ लागेको छ । सबैको हातेमालो हुन सके समृद्ध बेनीघाट बनाउन सकिन्छ’ उनले भनिन् ।
कार्यक्रममा सहभागीहरुले महिलाका हक अधिकार, महिलाका भोगाई तथा सामाजिक चित्रणसहितका साहित्यिक रचनाहरु समेत प्रस्तुत गरेका थिए ।

