





























काठमाडौं– पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । अविरल वर्षातका कारण सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो ।
धादिङको गजुरी गाउँपालिका- ६, जहरे खेतमा माथिबाट रुखसहित आएको पहिरोले दुईतर्फी सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो खुलाउन उपकरण सहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । पहिरो झरी रहेका कारण पहिरो पन्छाउन समस्या रहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण काठमाडौं जाने सवारी साधनहरू गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारी साधनहरू आदमघाटमै रोकिएका छन्।
त्यस्तै, थाक्रे गाउँपालिका- ७ सात किलोमा पहिरोका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

