ठूलै विपत्ति कुरेर बस्छ विद्युत प्राधिकरण

ठूलै विपत्ति कुरेर बस्छ विद्युत प्राधिकरण

काठमाडौं — धादिङको नीलकण्ठ नगरपालिका–३ मिलनटोल पहरे चौतारास्थित विजुलीको तारले झोलुङ्गे पुलमा छुनै लाग्दा जोखिम बढेको छ । झोल्लिएको विजुलीको तारले हावासँगै आसपासका रुखका हाँगामा पिङ खेलिरहेको छ । स्थानीय तथा यात्रुहरु जुनकुनै बेला ठूलै विपत्ति निम्तिने त्रासमा छन् । उनीहरुले विद्युत प्राधिकरणलाई पटक–पटक मर्मतका लागि अनुरोध गर्दा पनि प्राधिकरणले बेवास्ता गरेको उनीहरु बताउँछन् ।

Advertisement

‘वर्षात्को समय छ । कति बेला हावाहुरि चल्छ थाहा छैन । हावाहुरि चलेको बेला पुलमा हिड्ने यात्रुलाई करेन्ट लाग्ने निकै ठूलो जोखिम छ’, स्थानीय घनमान श्रेष्ठ भन्छन्– ‘पुलमा विजुलीको तारले छुनै लागेको छ । आसपासका रुखका हाँगामा छोइरहेको छ । हामीले धेरै पटक प्राधिकरणलाई भनिसक्यौँ । तर, कानमा तेल हालेर बसेको प्राधिकरणले हाम्रो कुरा सुनेन । अस्ति अरुङ खोलामा दुर्घटना हुँदा पनि प्राधिकरण चेतेन । प्राधिकरणको लापरबाही कहिलेसम्म ?’ उनले प्रश्न गरे ।

यमबहादुर अधिकारी पनि झोल्लिएको तारकै कारण बस्ती जोखिममा परेको बताउँछन् । ‘हावा–हुरी चलेको बेला पुलमा मानिस हिँड्दा जुन कुनै बेला दुर्घटना हुने खतरा छ । हाम्रो बस्ती नै जोखिममा छ । सानो तुवाँलो वा हुरी आयो भने कहिले के हुन्छ भन्न सकिन्न । तर प्राधिकरणलाई भने हाम्रो पीर छैन, न हाम्रो कुरा सुन्छ’ उनले भने ।

मिलनटोलका बासिन्दाले मात्र होइन, वरपरका बस्तीले पनि बिजुलीका झोल्लिएका तारको त्रास सधैं खेपिरहेका छन् । नीलकण्ठ वडा नम्बर ३ र १२ जोड्ने पुलको बाटो भएर दैनिक सयौंका संख्यामा यात्रुहरु आवतजावत गर्छन् । विहान कलेज, दुग्धजन्य पदार्थ विक्रि तथा घाँस काट्ने लगायत अफिस, विद्यालय जाने बालबालिकाहरुको मूख्य माग हो । तर उनीहरु झोल्लिएको तारका कारण जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् । राम रिजाल भन्छन्,– ‘मिलनटोल मात्रै होइन, अरु ठाउँमा पनि यस्तै समस्या छ । प्राधिकरणलाई सयौँ पटक भनिसक्यौँ । तर, प्राधिकरणले बेलैमा कहिले काम गर्दैन । दुर्घटनापछि मात्रै काम गर्ने बानी प्राधिकरणले कहिले छोड्ला ?’

धादिङ वितरण केन्द्र नेपाल विद्युत प्राधिकरणका प्रमुख सुधिर राय भने मर्मतका कामहरू नियमित रुपमा भइरहेको दाबी गर्छन् । ‘धेरै ठाउँमा गुनासो आउँछ । आवश्यकता अनुसार मर्मत गर्ने काम भइरहेको छ । पहरे चौतारा आसपासका क्षेत्रमा पनि भोलिसम्म मर्मत हुन्छ’ उनले भने ।

स्थानीयको भनाइ र प्राधिकरणको जवाफबीच ठूूलो अन्तर देखिन्छ । तत्काल समाधान नगरेसम्म जोखिम छ । अरुङ खोला किनारमा भएको घटना ताजै छ, तर प्राधिकरण अझै पनि सक्रिय हुन तयार देखिँदैन । मिलनटोल मात्र होइन, जिल्लाभर यस्ता झोल्लिएका तार र बिग्रिएका पोलको संख्या सयौँमा छ । दुर्घटना पर्खेर बस्ने संस्कृति प्राधिकरणले कहिले छोड्ला ?

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट