धादिङको हिरक पार्क क्षेत्रमा ४ हजार विरुवा रोपियो

धादिङको हिरक पार्क क्षेत्रमा ४ हजार विरुवा रोपियो

काठमाडौं- उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिका–४ हिरक पार्कमा वृक्षारोपण गरिएको छ । ऐतिहासिक महत्व बोकेको निर्माणाधिन पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो ।

Advertisement

पार्क र आसपास क्षेत्रमा करिव चार हजार विरुवा रोपिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताए । ‘कपुर, असोक, ज्याक्रान्डा, कल्फी, सयपत्री, गोदावरी, असारे लगायत विभिन्न प्रजातिका फुलहरु सहित पार्कमा ३ सय विरुवा रोपिएको छ । ४ सय ५० बाँस र ३ हजार अम्रीसो गरी यस क्षेत्रमा करिव चार हजार विरुवा रोपिएको हो’ उनले भने– ‘मध्यपहाडी लोकमार्गको माइलस्टोन बनाउने लक्ष्य रहेको छ । सामुदायिक वन मार्फत स्टोर हाउस, कफी हाउस, पाले घर, टिकट घर, विश्राम स्थल बनाएर ऐतिहासिक १५ कोषलाइ समेटेर विकास गर्ने लक्ष्य रहेकोे छ ।’ उनले भने ।

मध्यपहाडी लोकमार्गको यात्राको क्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिरक पार्कको शिलान्यास गरेका थिए । एमाले स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनले यो पार्कलाई राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित शिलान्यास गरिएको बताएका थिए ।

निर्माणाधिन पार्कलाई व्यवस्थित गर्दै पूर्णता दिने नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताए । ‘वजेट थोरै धेरै आफ्नो ठाउँमा छ । आशा गरेअनुसार वजेट परेन तर पार्कको पुनर्निमार्णले पूर्णता पाउनेछ’ उनले भने– ‘प्रधानमन्त्रीलाई पनि यो पार्क उद्घाटन गर्ने रहर छ । वजेट कतिकतैबाट विनियोजन गरेर पूर्ण गर्नेछौं । हनुमान ढोका र गोर्खा तरबारको विचमा रहेको यो १५ कोष ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । होमस्टे, पर्यटकिय दृष्टिकोण लगायतका हिसावले विकास गरि यहाँका उत्पादनको बजारीकरण र आर्थिक पाटोमा यस पार्कले जोड्नेछ ।’

त्यस्तै, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले हिरक पार्कको संरक्षणमा पालिकाले हेरालु राख्नेदेखि हरेक क्षेत्रमा सहयोग गर्ने बताएका छन् । ‘हिरक पार्क पर्यटकिय दृष्टिकोणसँगै पालिकाबासीको आयआर्जनसँग पनि जोडिएको स्थल हो । सोचे जस्तो वजेट ल्याउन नसक्दा पूर्णता दिन समस्या भएको छ’ उनले भने– ‘पार्कको व्यवस्थापन तथा निर्माण कार्य सम्पन्न गर्न आन्तरिक श्रोत नभएपनि यसको प्रवद्र्धन गर्न स्थानीय सरकार लाग्नेछ ।’

१५ कोष विशेषत पृथ्वी नारायण शाहको पालामा हनुमान ढोकामा फुलपाती भित्र्याउने समयमा लमजुङ, तनुँह, गोर्खाका मानिसहरु काठमाडौ आउँदा जाँदा बाटो थकाइ मार्ने तथा खाजा खाने स्थल रहेको स्थानीयहरुको भनाई छ । तारा खसेको ढुंगा, चौरीको खुर भेटिएको लगायतका ऐतिहासिक महत्व रहेको स्थल हो । बागमती प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजना हेटौडाको २८ लाख र डिभिजन वन कार्यालय धादिङको १० लाख रुपैयाँ गरि कुल ३८ लाख लागतमा निर्माणाधिन हिरक पार्क अन्तिम चरणमा पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट