





























काठमाडौं– सवारी साधनले महंगो भाडा असुलेको भन्दै नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका कमिटि धादिङले धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ध्यानाकर्षण गराएका छन् ।


धादिङबेसीदेखि सल्यानटारसम्म करिव ३३ किलोमिटर पक्की सडकमा २ सय ५० रुपियाँ भाडा असुल्ने गरेको अध्यक्ष बाबुकृष्ण श्रेष्ठले बताए । ‘पहिले कच्ची बाटो हुदाँको दररेट अहिले पिच सडक हुँदा पनि उहि दररेट लिदै आएको छ । बागमती प्रदेशको यातायात सार्वजनिक सवारी भाडादर अनुसार प्रति किलोमिटर प्रतिव्यक्ति ३ रुपैयासम्म लिन पाउने नियम छ’ उनले भने– ‘तर यातायात व्यवसायीको मनलाग्दी भाडादरले यात्रुहरु मारमा छन् । नियम अनुसार भाडादर कायम गरियोस् भनि प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका हौं ।’
धादिङबेसी–गोलाङ–आगिञ्चोक सडक, धादिङबेसी–धुवाकोट–भर्याउ–भुरुड–कटुजे, धादिङबेसी–चैनपुर–खरीमैदी सडक, धादिङबेसी–सुनौला बजार सडक लगायतका सडक खण्डहरुमा यातायात भाडा दर कानुन बमोजिम कायम गर्न ध्यानाकर्षण पत्र मार्फत उनीहरुले आग्रह गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ल्ला अधिकारी सुवेदीले तत्काल बैठक बोलाएर नयाँ भाडा दर निर्धारण गरी कार्यान्वयन गर्ने बताए । ‘भाडा दर महंगो बनाएको चाडपर्वको समय भएर पनि हुन सक्छ । तत्काल राजनीतिक दल संचारकर्मी, यातायात व्यवसायीहरु सङ्ग छलफल गरि समस्या समाधान गर्नेछौं’ उनले भने ।

