





























धादिङ– धादिङको गजुरी गाउँपालिकाले पहिलो पञ्चवर्षिय आवधिक विकास योजना तर्जुमाका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । समग्र गजुरी गाउँपालिकाको विकासका लागि आगामी नीति, कार्यक्रम तथा बजेटका विषयमा कार्यशाला गोष्ठिमा छलफल गरिएको हो ।


अन्तरक्रिया तथा कार्यशाला गोष्ठिबाट तर्जुमा हुने पञ्चवर्षिय आवधिक विकास योजनाले गजुरी गाउँपालिकाको वर्तमा अवस्था, श्रोत साधनको प्राप्ति र परिचालन तथा सम्भावनाहरुको विश्लेषण गरी समृद्ध गजुरी गाउँपालिका निर्माणमा ठूलो योगदान पुग्ने अपेक्षा रहेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । ‘संघीय सरकार तथा प्रदेश सरकारले निर्धाण गरेको लक्ष्य तथा उद्देश्यहरुलाई आत्मसाथ गर्दै गाउँपालिकाको आगामी नीति कार्यक्रम तथा बजेटहरुमा समावेश गरि श्रोत साधनको परिचालन गरि सम्भावनाहरुबाट गजुरी गाउँपालिकाको विकासमा ठूलो टेवा पुग्नेछ’ उनले भने ।
गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विशुरालले गुणस्तरयुक्त पूर्वाधारहरूद्वारा जनताको जीवनस्तरलाई सहज र सरल बनाउंदै उद्यमशिलताको विकासद्वारा आर्थिक सम्वृद्धिमा टेवा पुर्याउने खालका योजना आवश्यक रहेको बताइन् । त्यस्तै, प्रमुख प्रशासकिय अधिकृत होम बहादुर राउतले गाउँपालिका र यस अन्तर्गतका निकायहरूबाट प्रवाह गरिने सेवाको गुणस्तर वृद्धिगर्दै आधुनिक प्रविधियुक्त पूर्वाधारहरूको विकाससहित स्थानीय उत्पादनमा व्यवसायिक संस्कारको विकासगर्दै थप रोजगारीको सृजना गरी गाउँपालिकाबासीको आर्थिक अवस्था सुधार गर्नु पर्ने बताए ।
गजुरी गाउँपालिकाका वडा अध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा गाउँपालिकाले पहिलो पञ्चवर्षिय आवधिक विकास योजना तर्जुमाका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
