काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका–४ मा रहेको बुङचुङ सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा सञ्चालन भइ रहेको छ । स्वास्थ्यकर्मीहरु विदामा बसेपछि करिव दुई सातादेखि स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको हो । सेवाग्राहीहरु भन्छन्– ‘भनेको बेला सिटामोल धरि नपाइने स्वास्थ्य इकाईमा दुई सातादेखि स्वास्थ्यकर्मी नहुनु नागरिकको स्वास्थ्यमाथि चरम लापारबाहि हो ।’
सिद्धलेक गाउँपालिका–४ खर्कगैराका केशरी गिरी दुखेको घुँडाको उपचारका लागि बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा आएको बताउँछन् । चर्काे घाममा असिनपसिन भएर फर्कदै गरेका उनको स्वास्थ्य इकाईमा औषधि र स्वास्थ्यकर्मी दुवै नपाएको गुनासो छ । उनले भने– ‘घुँडा दुखेर एक घण्टा लगाएर आएको न स्वास्थ्यकर्मी भेटेँ, न त औषधि पाइयो । कार्यालय सहयोगी मात्र रहेछ, कार्यालय खोलेर मात्र के काम । बरु बन्द गरेर राखे भइ गयो । बेकारमा खुल्ला छ भनेर आउने म जस्तो सेवाग्राीलाई सास्ति मात्र भयो ।’
बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा भनेको बेला सिटामोल समेत नपाइने सविना सिलवाल बताउँछिन् । ‘छैन भनम भने घर आँगन नजिकै स्वास्थ्य इकाई छ । छ भनम भने केहि सेवा पाइदैन’ उनले भनिन्– ‘विहान आँखा खुलेदेखि नसुतुन्जेलसम्म घर अगाडी स्वास्थ्य इकाई छ । विरामी भयो भने धादिङबेसी कुद्ने होकि मलेखु पुग्नु पर्ने हो थाहा छैन । पहिले भन्दा अहिले सेवामा चरम लापरबाही छ ।’
त्यस्तै, ज्ञानु आचार्य पनि स्वास्थ्य इकाईले नागरिकको स्वास्थ्यमाथि चरम लापारबाही गरेको बताउँछिन् । ‘मेरो त घरमा वृद्धवृद्धा बाआमा बस्नुहुन्छ । विरामी भएर औषधि लिन जाँदा केही पाइदैन । २/२ जना स्वास्थ्यकर्मीहरु हुदाँ पालैपालो विदा बसेर सेवा दिनु पर्ने हो । गाउँपालिका पनि के हेरेर बस्छ खै ?’ उनले गाउँपालिकालाई प्रश्न गरिन् ।
कार्यालय सहयोगीलाई औषधि विक्रि वितरण तथा स्वास्थ्य सेवा प्रवाह गर्ने अधिकार छैन । तर छोरी विरामी भएको समयमा सिटामोल लिएर गएको बासुदेव सिलवाल बताउँछन् । ‘कार्यालय सहयोगीले औषधि दिन नमिल्ने हो । तर स्वास्थ्यकर्मी हप्तौ हुदा पनि विदामा बसेका छन् । नजिकै रहेको स्वास्थ्य संस्था छाडेर कहाँ जानु’ उनले भने– ‘चिकित्सक विना अरुले औषधि दिदा विरामी तलमाथि भए को जिम्मेवार ? यो स्वास्थ्य इकाईमा त मिति गुज्रिएका औषधिहरु समेत आउँछन् । यो सबै स्वास्थ्य जस्तो गम्भिर क्षेत्रमा चरम लापरबाही हो ।’
साउनको २३ गतेदेखि अहेव सुवना घले विदामा छिन् । साउनकै २९ गतेदेखि अनमी दिपा पराजुली पनि विरामी भएर विदामा बसेपछि बुङचुङ सामुदायिक स्वास्थ्य इकाई करिव दुई सातादेखि स्वास्थ्यकर्मीविहिन बनेको हो ।
स्वास्थ्यकर्मीहरु विदामा भएपनि कार्यालय सहयोगी कौशिला सिलवालले कार्यालय समयमै खोल्ने र बन्द गर्ने गरेको बताउँछिन् । ‘दैनिक १५ जना भन्दा माथि विरामी आउँछन् । कहिले त ५० जनासम्मलाई सेवा दिएका छौं’ उनले भनिन्– ‘इमर्जेन्सीका विरामी आयो भने अहिले पालिका पठाइदिन्छु । मैले औषधि दिन मिल्दैन । म त अफिस खोल्ने, सरसफाइ गर्ने बस्ने अनि बन्द गरेर जाने हो ।’
बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा सिद्धलेक गाउँपालिकाका वडा नम्बर १,४,५ र ६ का करिव एक हजार घर परिवारले सेवा लिदै आएको स्थानीय बासुदेव सिलवालले बताए । ‘बुङचुङ, खर्क गैरा, बैरेनी, फाकफुक, स्याखुटार, आपटार, काम्राङ, कत्लेडाँडा, माबिखोला फिस्टार, नयाबस्ती लगायतका ठाउँबाट यस स्वास्थ्य इकाईमा सेवा लिन आउँछन् । गाउँपालिकाको आडैमा रहेको स्वास्थ्य इकाईको हालत त यस्तो छ अन्य ठाउँको झन् कस्तो होला’ उनले भने ।
सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले भोलि शुक्रबारदेखि स्वास्थ्यकर्मी सहितको सेवा प्रवाह हुने बताएका छन् । ‘स्वास्थ्यकर्मीसहितको सेवाग्राहीको माग र कार्यालय सहयोगीले दिएको औषधि सेवनपछि विरामी तलमाथि भए को जिम्मेवार भन्ने सेवाग्राहीको प्रश्न जायज छन् । सुवनाको एक साताको विदा थियो । दिपा जी विरामी भएर जानुभएको हो’ उनले भने– ‘उहाँहरुले विदा लिएको दिन भन्दा बाहेकका विदा रहेको दिनको तलव पाउनुहुन्न । सेवाग्राही मारमा परेकै हो । उहाँहरु भोलि विहीबारबाटै हाजिर हुने र नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउँछन् ।’
बुङचुङ सामुदायिक स्वास्थ्य इकाई भाडाको घरमा सञ्चालन भइ रहेको छ । स्वास्थ्यकर्मीले पनि तलब पाइ रहेका छन् । कार्यालय सहयोगीको भरमा स्वास्थ्य इकाई चलेको पनि पालिका तथा सबैलाई जानकारी छ । तर स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको चरम लापारबाहीको कसैले चासो नदिनु सुशासनप्रतिको गम्भिर प्रश्न हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप