





























धादिङको गल्छी गाउँपालिका–८ स्थित छाङ्गेश्वर मन्दिर परिसरमा आयोजित गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ सम्पन्न भएको छ । पुष २ गतेदेखि सुरु भएको मेला पुष १५ गते समापन गरिएको हो ।



श्री छाङ्गेश्वर महादेव छाङ्गादेवी मन्दिरको सहआयोजनामा सञ्चालन गरिएको महोत्सवमा १५ हजार दर्शकले अवलोकन गरेको छन् भने करिव एक करोड बराबर कारोबार भएको आयोजक राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।

महोत्सवले स्थानीय कृषि उत्पादन, मौलिक संस्कृति र व्यापारिक गतिविधिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । मेलामा स्थानीय किसानद्वारा उत्पादित कृषि उपज, घरेलु तथा हस्तकलाका सामग्री, स्थानीय उत्पादनका स्टलहरू राखिएको थियो। साथै, विभिन्न जातजातिको मौलिक भेषभूषा, लोकनृत्य, लोकगीत तथा सांस्कृतिक प्रस्तुतीहरूले मेलालाई थप आकर्षक बनाएको थियो ।
मेला अवधिभर कृषि प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणका विषयमा समेत छलफल र जानकारीमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो । गल्छी गाउँपालिकाका स्थानीयवासीसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शक तथा आगन्तुकहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
छाङ्गेश्वर मन्दिर परिसरमा आयोजना गरिएको मेलाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रको प्रचार–प्रसारमा सहयोग पुगेको बताइएको छ । आगामी दिनमा यस्ता कृषि, सांस्कृतिक तथा व्यापार मेलाहरूलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने योजना रहेको सह–आयोजक श्री छाङ्गेश्वर महादेव छाङ्गादेवी मन्दिर समितिका अध्यक्ष खेमप्रसाद अमगाईले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
