पत्रकारितामा एआईसम्बन्धी अभिमुखीकरण, रुवीभ्यालीका अध्यक्ष तामाङ भन्छन्– ‘पत्रकारिता परिवर्तनको संवाहक हो’

  • नेपाल पथ
  • २०८२ पौष १६, बुधबार (१ घण्टा अघि)
  • १० पटक पढिएको
पत्रकारितामा एआईसम्बन्धी अभिमुखीकरण, रुवीभ्यालीका अध्यक्ष तामाङ भन्छन्– ‘पत्रकारिता परिवर्तनको संवाहक हो’

धादिङ– धादिङमा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । डिजिटल युगमा पत्रकारितालाई समयसापेक्ष, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

अनलाइन मिडिया सोसाइटी धादिङको आयोजना र रुवीभ्याली गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा डिजिटल पत्रकारिता, सामग्री वितरण, एआईको प्रयोग र तथ्य जाँच (फ्याक्ट–चेकिङ) का विषयमा प्रशिक्षण गरिएको हो । तालिमका क्रममा डिजिटल मिडियामा समाचार लेखन तथा प्रस्तुतिकरणका विधि, सामग्रीलाई प्रभावकारी बनाउने उपाय, सत्य र तथ्यपरक सूचना श्रोता–दर्शकसम्म विश्वसनीय रूपमा कसरी पु¥याउने भन्ने विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्दै रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले पत्रकारिता देश विकास, सुशासन र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको बताएका छन् । ‘पत्रकारिताले राज्य सञ्चालनदेखि नागरिक चेतना अभिवृद्धिसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रविधिको विकाससँगै डिजिटल प्रणाली र एआईको जिम्मेवार तथा प्रभावकारी प्रयोग गरि पत्रकारिता क्षेत्रलाई फड्को मार्न सकिन्छ’ उनले भने ।

उत्तरी धादिङका बासिन्दाले भोग्दै आएका आधारभूत समस्या राष्ट्रिय बहसको विषय बनाउनु पर्नेमा उनले जोड दिए । ‘रुवीभ्यालीसहित उत्तरी धादिङका धेरै स्थानमा वर्षमा करिब चार महिना सवारी साधन सञ्चालन हुँदैन । जसका कारण नागरिकले सामान्य सेवा लिन समेत कठिनाइ भोग्नुपरेको छ’ उनले भने, ‘तर यस्ता गम्भीर विषयहरू जिल्ला र राष्ट्रियस्तरमा पर्याप्त बहसमा आउन सकेका छैनन् । पत्रकारिताको क्षेत्रबाट कलम चले विकासले फड्को मार्ने थियो ।’

उत्तरी क्षेत्रमा निर्माणाधीन हाइड्रोपावर आयोजना, प्राकृतिक स्रोतसाधन तथा दुर्लभ ढुंगाखानी (स्टोन) को सम्भावनाबारे समेत पर्याप्त चर्चा हुन नसकेको उनले बताए । कानुनी जटिलता र सम्बन्धित निकायसँग समन्वय गर्दा पनि समस्या समाधान हुन नसकेको बताउँदै यस्ता विषयलाई पत्रकारितामार्फत गम्भीर रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याए । साथै, रुवीभ्याली गाउँपालिकाभित्र रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न सके स्थानीय आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्ने उनले बताए ।

एकदिने अभिमुखीकरण कार्यक्रममा फोटो तथा भिडियोका लागि प्रयोग हुने डिजिटल उपकरण र तिनको उपयोग, सोसल मिडिया एल्गोरिदमअन्तर्गत प्रयोगकर्ताको रुचि, सामग्री छनोट र समय व्यवस्थापन, सामग्री निर्माणमा एआईको उपयोगिता र प्रयोग विधि, तथ्य जाँच तथा भ्रामक सूचनाको पहिचान र फलोअप गर्ने तरिका, डिजिटल सुरक्षा, गोपनीयता र मोनेटाइजेसनसम्बन्धी विषयमा डिजिटल मिडिया प्रशिक्षक अनिल अधिकारी र डिआर आचार्यले सहजीकरण गरेका थिए । सहभागीहरूले तालिमले डिजिटल मिडियामा काम गर्न थप आत्मविश्वास बढाउनुका साथै व्यावहारिक सीप विकासमा महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट