





























धादिङ– सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा अवस्थित सहकारीको छैठौँ वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त निर्णय गरिएको हो।




साधारण सभाको अवसरमा सहकारीले २२ जना उत्कृष्ट बाल बचतकर्तालाई स्टेशनरी सामग्री प्रदान गरेको छ। यस्तै, ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको छ भने उत्कृष्ट कारोबार गर्ने १० जना शेयरधनीलाई पनि सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति लक्ष्मणप्रसाद उपाध्याय, प्रमुख अतिथि कृषि तथा सहकारी शाखा प्रमुख केपी भट्टराई लगायतले सहकारीको खुलेर प्रशंसा गर्दै मध्यम वर्गका लागि सहकारी संस्थाले ठूलो राहत पुर्याएको बताए। उनीहरूले स्थानीय स्तरमा बचत र लगानीको संस्कार विकास गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

सहकारीका प्रबन्धक प्रकाश श्रेष्ठले “आजको बचत नै भोलिको भविष्य” भन्ने मूल मर्मका साथ सहकारी स्थापना गरिएको बताए। बचत गर्ने बानीको विकास, व्यवसाय तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ऋणको सहज पहुँच प्रदान गर्ने उद्देश्यले सहकारी सञ्चालन गरिएको उनको भनाइ छ। सहकारीमार्फत स्थानीयवासीमा बचत गर्ने संस्कार बढ्दै गएको र सहुलियत दरमा ऋण पाउन थालेको श्रेष्ठले जानकारी दिए।

साधारण सभामा मनोरञ्जनात्मक चिठ्ठा कार्यक्रम पनि आयोजना गरिएको थियो। चिठ्ठा कार्यक्रमका विजयी शेयर सदस्यहरूलाई कुकर, हिटर, इलेक्ट्रिक जग, हट वाटर ब्याग, थर्मस मिक्सचर लगायतका सामग्री वितरण गरिएको प्रबन्धक श्रेष्ठले बताए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
