





























काठमाडौं– धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफ्नो क्षेत्राधिकार बाहिर गएर ठाडो निर्देशन दिएकी छिन् । बेनीघाटरोराङ गाउँपालिकाका विषयमा लगातार दुई दिन दुई ओटा निर्देशन दिएको छु भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् ।


सामाजिक सञ्जाल मार्फत उनले ‘बेनीघाट–रोराङ गाउँपालिका वडा नं. ९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको जानकारी प्राप्त भएपछि उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छु । मैले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने कुरा स्पष्ट रूपमा जानकारी गराउँछु’ भनेर पोष्ट गरेकी छिन् ।
त्यस्तै, सोही गाउँपालिकाले लिँदै आएको ‘मलेखु–ताल्ती स्थानीय सडक पूर्वाधार सेवा शुल्क (पटके कर)’ को विषयमा कर नउठाउन निर्देशन दिएकी छिन् । ‘मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु । कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु’ उनले आफ्नै सामाजिक सञ्जाल फेसबुकका पोष्ट गरेकी छिन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फका सदस्यको नाम घोषणा गरिसकेको छ । संघीय सांसदको काम कर्तव्य अधिकार नीतिगत निर्देशन दिने, सरकारी खर्चको अनुगमन र नयाँ कानुन निर्माण वा संशोधन गर्ने हो । तर सांसदहरूको शपथ ग्रहण हुन बाँकी नै रहदा उनले पोष्ट गरेको यो दुबै स्टाटस यति बेला चर्चा र विवादको विषय बनेको छ ।
नेपालको संविधानले स्थानीय, प्रदेश र संघीय सरकारको क्षेत्राधिकार स्पष्ट रूपमा तोकेको छ । स्थानीय सडक, ग्रामीण सडक र कृषि सडकको व्यवस्थापन पनि स्थानीय तहकै क्षेत्राधिकारभित्र पर्छ ।संविधानमा स्थानीय कर (सम्पत्ति, घर बहाल, सवारी साधन आदि), सेवा शुल्क, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर र दण्ड जरिबाना सङ्कलन गर्ने अधिकार, स्थानीय सडक, ग्रामीण सडक र कृषि सडकको व्यवस्थापन स्थानीय सरकारलाई दिएको छ ।
कानुनविद्हरु पनि सांसदले स्थानीय तहको क्षेत्राधिकारभित्र गएर हस्तक्षेप गर्न नमिल्ने बताउँछन् । क्षेत्राधिकारभित्र गएर हस्तक्षेप गर्ने वा निर्देशन दिने भन्दा निगरानी, अनुगमन र सहकार्य गर्नु हो । सामाजिक सञ्जालमै पनि धेरैले कानुनको पालन गर्न अनुरोध गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन लगायतका कानुन अनुसार चल्नु पर्छ । कानुन भन्दा बाहिर रहेकालाई कार्वाही गर्नुपर्छ । तर कानुनको पालन सबैले गर्नु पर्नेमा प्रयोगकर्ताहरुले जोड दिएका छन् ।
उनको पोष्टमा धेरैले नकरात्मक कमेन्ट गरेका छन् । सांसदको काम कर्तव्य अधिकार नबुझेको देखि विनाश गर्नेले विकास नबुझ्नेसम्मका प्रतिक्रिया दिएका छन् । केहीले सबैलाई कानुनको घेरामा राखेर अघि बढ्न सल्लाह दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
