






























काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार चैत १३ गते बन्ने भएको छ । प्रतिनिधि सभामा झन्डै दुईतिहाइ सिटको जनादेश प्राप्त रास्वपाको शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने तय गरेको हो ।


संसद् सचिवालयले १२ चैतको दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूको शपथ गर्ने कार्यक्रम रहेको छ । बिहान ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिने छन् । दिउँसो अन्य सदस्यहरूलाई केसीले शपथ गराउनेछन् । शपथको भोलिपल्ट १३ चैतमा वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ ।
चैत १२ गतै नवनिर्वाचित सांसदहरूको शपथ सकेपछि पार्टीको केन्द्रीय समिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने क्षेत्राधिकार संसदीय दललाई दिने निर्णय गरिने जानकारी दिएको छ । संदीय दलले बालेनलाई चुन्नेछ ।
रास्वपा नेताहरूले बालेन सरकारमा जाने मन्त्रीहरूबारे केही सार्वजनिक गरेको छैन । तर, सरकार गठनको दिनसम्म मन्त्रीहरूको पनि टुंगो लाग्ने बताएका छन् । ‘बालेनलाई औपचारिक रूपमै ‘भावी प्रधानमन्त्री’मा प्रस्तुत गरेर रास्वपा निर्वाचनमा होमिएको थियो । पार्टीको देशव्यापी संगठन र रवि–बालेनको व्यक्तिगत क्रेजको मिश्रणमा रास्वपाले प्रतिनिधिसभाका २७५ सिटमध्ये १८२ मा जित निकाल्यो । दुईतिहाइका लागि मात्र दुई सिट कम ल्याएको रास्वपाले सोचेजस्तो सरकार बनाएर काम गर्ने नागरिकहरुले अपेक्षा गरेका छन् ।

