





























काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । लगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१-००६ ख ६७१६ ले समेत उक्त बसलाई पछाडिबाट ठक्कर ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो।
दुर्घटनामा परी घाइते भएका ३७ जनामध्ये तीन जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जसमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ। तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए।
दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरी रहेका छन्।

