






























धादिङ– धादिङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या गर्नेलाई प्रशासनले कारबाहीको माग गरेको छ। अभद्र व्यवहार र ड्युटीका क्रममा खाजा खाइरहेको भिडियो अनाधिकृत रूपमा खिचेर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने र अफवाह फैलाउनलाई धादिङ अस्पतालले कारबाहीको माग गरेको हो ।
स्वास्थ्य मन्त्रालयले जथाभावी अस्पतालको फोटो तथा भिडियो नखिच्न निर्देशन दिएको छ। तर धादिङको ज्वालामुखी गाउँपालिका-४ का सुगम बाँडाले चिकित्सक तथा स्वास्थ्यकर्मीले खाजा खाइरहेको समयमा अनुमति बिना फोटो तथा भिडियो खिच्ने र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर त्रिभुवनचन्द्र झाले बताए ।
‘बिरामीको चाप उच्च छ। भनेकै समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीले खाजा खान भ्याउने अवस्था छैन। दुईजना रहेको शाखामा त पालैपालो खाजा खान भनिएको छ। तर एकजना मात्र रहेको ठाउँमा आलोपालो गरेर खाजा खान सम्भव रहँदैन’ उनले भने- ‘त्यस्ता शाखाका चिकित्सक र स्वास्थ्यकर्मीले खाजा खाइरहेको अवस्थामा अनुमतिबिना फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरिएको छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिराएको छ। जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङलाई आवश्यक कानुनी कारवाहीका लागि अनुरोध गरेका छौं।’
अस्पतालले यस्ता गतिविधिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरिरहेको, कार्यक्षेत्रमा डर र त्रासको वातावरण सिर्जना भएको तथा कर्मचारीहरूको मनोबल कमजोर बन्दै गएको उनले बताए ।
त्यस्तै, धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले धादिङ अस्पताललाई बदनाम गर्ने उद्देश्यले यस्ता गतिविधि भइरहेको बताएकी छन् । उनले धादिङ अस्पतालमा सामान्यदेखि विशेषज्ञ सेवासम्म सरल, सहज र सुलभ मुल्यमा सेवा प्रवाह भइरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले खाजा खाने समयको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नु अस्पताल र स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य भएको बताइन् ।
अध्यक्ष सापकोटाले अस्पतालले प्रवाह गरिरहेका सेवाप्रति कुनै गुनासो वा समस्या भए सम्बन्धित चिकित्सक वा अस्पताल प्रशासनसँग समन्वय गर्न समेत आग्रह गरेकी छन् ।

