
काठमाडौं– राष्ट्रिय धान दिवसको अवसरमा धादिङका विभिन्न स्थानमा परम्परागत शैलीमा रोपाइँ महोत्सव गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका–५ सुकौराबेसी र गजुरी गाउँपालिका–१ गलौदीमा सामूहिक रोपाइँ गर्दै कृषि संस्कृति, श्रमको सम्मान र सामाजिक एकताको सन्देश दिइएको हो।
सिद्धलेकको सुकौराबेसीमा पञ्चेबाजाको धुन, असारे गीत र हिलो खेलसँगै किसान तथा स्थानीयवासी सामूहिक रूपमा रोपाइँमा सहभागी भए। आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै गए पनि स्थानीयले ट्र्याक्टरको सट्टा हलो र गोरुको प्रयोग गर्दै रैथाने कृषि संस्कृतिको संरक्षणमा जोड दिएका छन्।
सिद्धलेक गाउँपालिका–५ वडा कार्यालय र बाग्बच्छला मन्दिर विकास तथा पर्यटन प्रवर्द्धन समितिको संयुक्त आयोजनामा बाग्बच्छला देवीको १० रोपनी गुठी जग्गामा सामूहिक रोपाइँ गरिएको हो। कार्यक्रममा किसानले हल गोरुहरू जोत्दै धान रोप्दै पञ्चेबाजा र असारे गीतले रोपाइँलाई उत्सवमय बनायो।
बाग्बच्छला मन्दिर विकास तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष बुद्ध गुरुङले कार्यक्रमको उद्देश्य खेतीपातीसँगै लोपोन्मुख रैथाने संस्कृति र परम्परागत कृषि अभ्यासको संरक्षण रहेको बताए। उनका अनुसार बाँझो बन्दै गएको गुठीको जग्गाको उपयोग गर्दै सामूहिक श्रम र सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्ने प्रयास गरिएको हो।
स्थानीय शिक्षक तथा किसान दिलबहादुर श्रेष्ठले नयाँ पुस्ता गाउँको कृषि संस्कृति र परम्परागत औजारबाट टाढिँदै गएको भन्दै व्यवहारमै सिकाउने उद्देश्यले हलगोरुको प्रयोग गरिएको बताए। उनका अनुसार अहिलेका धेरै बालबालिकाले हलो, जुवा, ढिकी र जाँतो प्रत्यक्ष रूपमा देख्नसमेत पाएका छैनन्।
रोपाइँमा कुम्पुर, बच्छला, कम्राङ, एख्लाङ, चेपे र चेउवाङलगायत क्षेत्रका किसानको उल्लेखनीय सहभागिता रहेको थियो। सामूहिक भोजन, हिलो खेल, असारे गीत र पञ्चेबाजाले रोपाई महोत्सवको थप उल्लास देखियो।
यता गजुरी गाउँपालिका–१ गलौदीमा पनि जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम, कर्मचारी तथा स्थानीयवासीले सामूहिक रूपमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन्। कार्यक्रममा कृषि उत्पादनसँगै श्रमको सम्मान, सामुदायिक सहकार्य र स्थानीय संस्कृतिप्रतिको अपनत्वलाई प्राथमिकता दिइएको थियो।
कृषि विकास कार्यालय धादिङका प्रमुख गोविन्द प्रसाद पोख्रेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। उक्त क्षेत्रफलबाट करिब ४० हजार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको छ। यसले धादिङको खाद्य सुरक्षा, स्थानीय अर्थतन्त्र र किसानको जीविकोपार्जनमा धान खेतीको महत्वपूर्ण योगदान रहेको उनले बताए।
जलवायु परिवर्तन, खेतीयोग्य जमिनको कमी र गाउँबाट युवाको पलायनजस्ता चुनौतीका बीच आयोजित यस्ता सामूहिक रोपाइँ कार्यक्रमले कृषि उत्पादनसँगै परम्परागत ज्ञान, स्थानीय संस्कृति र सामाजिक एकतालाई संरक्षण गर्न प्रेरणा दिएको स्थानीयको भनाइ छ।
हरेक वर्ष धान दिवसको अवसर पारेर धादिङका विभिन्न ठाउँमा रोपाई गर्दै आएको छ। यो वर्ष पनि धादिङका विभिन्न ठाउँमा रोपाइँ गरी असार १५ अर्थात् धान दिवस भव्य रुपमा मनाइएको हो ।

