धादिङ — रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण राजमार्ग अवरुद्ध भएपछि बाटोमै अलपत्र परेका यात्रु तथा बाढी प्रभावितका लागि धादिङको गजुरीमा स्थानीयले निःशुल्क भोजनको व्यवस्था गरेका छन्।
‘दुःखको समयमा गजुरीबासीको साथ’ र ‘मानवता नै हाम्रो पहिचान’ भन्ने भावनाका साथ गजुरीका स्थानीयले सडकमा रोकिएका सवारी चालक, सहचालक तथा यात्रुहरूलाई निःशुल्क खाना खुवाउन थालेका हुन्।बाढीपहिरोका कारण सडक अवरुद्ध भएर अलपत्र परेका सर्वसाधारणलाई तत्काल राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गजुरी गाउँपालिका–१ का वडा सदस्य कुलबहादुर सुनारले बताए।
बिहीबार बिहानदेखि बेलुकासम्म करिब ११ सय जनाले खाना खाएका थिए। शुक्रबार दिउँसोसम्म थप करिब ३ सय जनालाई भोजन गराइएको स्थानीयले बताएका छन् । धादिङको गजुरी गाउँपालिकाले पोखरा महानगरपालिकाको सहकार्यमा बाढी तथा पहिरो विपदपछिको निःशुल्क स्वास्थ्य सहायता कक्षा संचालन गर्दै आएको छ । विपतका कारण घाइते तथा प्रभावित नागरिकहरूका लागि तत्काल स्वास्थ्य सहायता तथा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
विपद्को कठिन समयमा स्थानीयले स्वतःस्फूर्त रूपमा थालेको यो अभियानले बाटोमै रोकिएका सयौँ यात्रुलाई खाना र स्वास्थ्य सेवासहित ठूलो राहत दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
