
धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकमा नयाँ ट्रयाक जोडिएको छ । दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको हो ।


ट्रयाक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन ‘डाउन’ अर्थात् सम्याउने काम भई रहेको छ । सडक सम्याउने, आवश्यक मर्मत कार्य तथा ग्रावेल पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
एक साताभित्रै अवरुद्ध पृथ्वी राजमार्ग सूचारु हुने धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताएकी छन् । ‘शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिवार जोडिएको छ । अब त्यसलाई चौडा बनाउने तथा सम्याउने काम गरिन्छ । त्यसपछि ग्रावेल गरेर सडक सूचारु गर्ने हो’ उनले भनिन्– ‘हामीले भएजति उपकरण र प्राविधिकहरु सबैको अधिकतम प्रयोगबाट राजमार्ग सञ्चालन गर्न प्रयास गरिरहेका छौं । विचमा थप अवरोध आएन भने एक साताभित्रमा सहज रुपमा अवरुद्ध राजमार्ग खुला हुनेछ । सकभर चाँडै सूचारु गर्दैछौं । एक साता भन्दा अगाडी नै पनि हुन सक्छ ।’
‘एम्बुलेन्स, दम्कल, शववाहन, खाद्यान्न तथा इन्धन लगायत अत्यावश्यक सवारी साधनका लागि पहिलो प्राथमिकता रहन्छ । सडक चौडा गर्ने र ग्रावेलको काम भएपछि ठूला तथा मालबाहक सवारीलाई खुला गरिनेछ’ उनले भनिन्– ‘देशकै लाइफलाइन मानिने मूख्य राजमार्ग भएकोले पनि सकेसम्म चाँडै खुलाउन लागि परेका छौं । दीर्घकालिन समाधानका लागि भने यसैलाई निरन्तरता दिन सकिन्छ वा विकल्प खोज्नुपर्छ छलफल भइरहेको छ ।’
त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग (मुग्लिन–काठमाडौं सडक) पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरातर्फ आवतजावत प्रभावित भएका छन् । यात्रुहरुले वैकल्पिक मार्गहरु प्रयोग गरिरहेका छन् ।

