काठमाडौं– देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग १८ दिनपछि पुर्ण रुपमा सञ्चालनमा आएको छ । भोटेकोसी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७ कृष्णभीरमा गएको पहिरोमा नयाँ ट्रयाक बनाएर आज असोज १ गतेबाट पृथ्वी सञ्चालनमा ल्याइएको हो ।


नागढुंगा–मुग्लिन सडक आयोजनाको नेतृत्वमा भदौ १८ गतेदेखि भदौ ३१ गते साँझसम्म निरन्तर दैनिक १८ घण्टासम्म काम गरेर नयाँ ट्रयाक खोलिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् । ‘कृष्णभीरमा पहिरो गएपछि कसरी खुलाउने भन्ने विषयमा छलफल गर्याैं । प्राविधिकले अध्ययन गर्याे । अहिले तत्कालका लागि नयाँ ट्रयाक खोलेर १८ दिनपछि आजबाट राजमार्ग सञ्चालनमा ल्याइएको हो’ उनले भनिन् ।
यात्रा गर्दा ओभरट्याक नगरिकन सुरक्षित यात्रा गर्न सबैका उनले आग्रह गरेकी छन् । ‘अवरुद्ध राजमार्ग खुलाउन सबै जना अहोरात्र खटिनुभयो । सडकको पुरानो भाग पूरै पहिरिएपछि विकल्पमा माथिल्लो भाग काटेर सडक चौडा बनाई नयाँ ट्रयाक निर्माण गरिएको हो’ उनले भनिन्– ‘ प्राविधिकले अध्ययन गरेर दीर्घकालिन समाधानका लागि पनि पहल गर्नेछौं ।’

