काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको विभिन्न ठाउँमा पहिरो खस्दा तीन ठाउँमा पूर्ण रुपमा राजमार्ग अवरुद्ध बनेको छ ।


धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।
त्यस्तैगरी, बेनीघाट रोराङ गाउँपालिका १० कै तिघ्राङघाट, गजरी गाउँपालिकाको परेवाभीरमा पनि दुइतर्फी अवरुद्ध रहेको उनले बताए । पहिरोले अवरुद्ध सडक खुलाउन जेसिवीको प्रयोग भइरहेको छ । राजमार्गका विभिन्न ठाउँमा पहिरो खसी रहेको छ । केही समय अगाडी मात्रै थाक्रे गाउँपालिका– २ कमेरेभीरमा खसेको पहिरो पन्छाएर राजमार्ग सूचारु गरिएको उनले बताए ।
निरन्तर वर्षाका कारण राजमार्ग अवरुद्ध रहेकोले अत्यावश्यक काम परे मात्रै यात्रा गर्नुहुन सबैमा उनले आग्रह गरेका छन् । यात्रा गर्नै पर्ने भएमा सूचना लिएर सुरक्षा निकायको सल्लाहमा मात्रै यात्रा गर्न उनले आग्रह गरे ।

