धादिङ- लगातार वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका सात ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ । दुई दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सडकमा क्षति पुगेको हो ।


बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध बनेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् । त्यस्तै बेनीघाट रोराङ गाउँपालिका १० को टिङराङखानी र गजुरी गाउँपालिका– ५ बाङ्गेमोडमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध रहेको उनले बताइन् ।
त्यसैगरी, बेनीघाट रोराङ गाउँपालिका– ९ ज्यामिरेघाट र वडा नम्बर ३ शितलबजारमा एकतर्फी रहेको छ । गजुरी गाउँपालिका– २ को परेवाभीर र चालिसेमा पनि एकतर्फी रहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन् ।
लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडकमा क्षति पुगेकाले यात्रुको सुरक्षा तथा जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको हो’ उनले भनिन्,– ‘राजमार्ग लगायत ठाउँ–ठाउँमा पहिरो खसेको छ । पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या छ । बर्षा रोकिए र पहिरो नझरे शनिबार बेलुकीसम्म राजमार्ग सूचारु गर्न सकिन्छ ।’
एम्बुलेन्स, दमकल, खाद्यान्न लगायत अत्यावश्क सवारीका लागि सकभर छिटो राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताइन् । ‘अहिले कृष्णभीर, टिङराङखानी र बाङ्गेमोडमा राजमार्ग ठप्प रहेकाले जेसिवी लगायतका उपकरण प्रयोग गरि चाँडै खुलाउने प्रयास भई रहेको छ । थप समस्या नआए शनिबार बेलुकासम्म राजमार्ग खुल्छ’ उनले भनिन् ।

