बाढीमा ज्यान गुमाएका ऋणीको परिवारलाई सहकारीले दियो ४ लाख ८ हजार

  • २०८३ आश्विन १३, मंगलबार (९ मिनेट अघि)
  • २ पटक पढिएको
बाढीमा ज्यान गुमाएका ऋणीको परिवारलाई सहकारीले दियो ४ लाख ८ हजार

धादिङ– धादिङ उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका आफ्ना ऋणी दयाराम लम्सालको परिवारलाई ४ लाख ८ हजार १५ रुपैयाँ हस्तान्तरण गरेको छ।

सहकारीले बीमा कम्पनीबाट प्राप्त रकमबाट लम्सालको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो। एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष ईश्वर धरेलले लम्सालका परिवारलाई रकम हस्तान्तरण गरेका हुन् ।

लम्सालले सहकारीबाट ३ लाख रुपैयाँ ऋण लिँदा १ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिरेर ऋणको बीमा गराएका थिए। उनको निधनपछि बीमा कम्पनीबाट क्रिया खर्चसहित ६ लाख १० हजार रुपैयाँ प्राप्त भएको सहकारीका अध्यक्ष धरेलले बताए।

बीमा कम्पनीबाट प्राप्त रकममध्ये लम्सालले सहकारीलाई तिर्न बाँकी रहेको २ लाख २ हजार रुपैयाँ ऋण कट्टा गरिएको थियो। ऋण कट्टापछि बाँकी रहेको ४ लाख ८ हजार १५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको धरेलले बताए।

सहकारीका उपाध्यक्ष बलराम खत्रीले व्यवसायीको हितलाई ध्यानमा राखेर ऋण लगानीसँगै बीमा गर्ने व्यवस्था गरिएको बताए। उनका अनुसार सहकारीले दर्ता भएका व्यवसायी तथा कर, प्यान र भ्याटमा आबद्ध व्यवसायीलाई आवश्यक कागजातका आधारमा सदस्य बनाउँदै आएको छ।

२०७१ सालमा स्थापना भएको सहकारी जिल्लाभर कार्यक्षेत्र रहेको संस्था हो। ५५ जना व्यवसायीबाट सुरु भएको सहकारीमा हाल करिब ३ करोड रुपैयाँको कारोबार भइरहेको खत्रीले बताए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट