धादिङ– सरकारले असोज २२ र २३ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।


१ देखी ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाइ भिटामिन खुवाइ रहेको जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्र धादिङको गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकामा हिजो २२ गते खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । आज २३ गते टोल टोलमा पुगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ’ उनले भने ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् । चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनिर, गिरीदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलजम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रंगका फलफूल भिटामिन ‘ए’ का स्रोत हुन् ।
भिटामिन ‘ए’ ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ ।
#भिटामिन‘ए’

