काठमाडौं- दशैं नजिकिँदै गर्दा घर फर्कने यात्रुको चाप बढ्न थालेको छ । तर दशैं सपना लिएर घर फर्किनेहरु सडकमै बास हुन्छन् कि कहिले घर पुग्छन् भन्ने निश्चित छैन । चाडपर्वको मुखमा देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरू फेरि लामो यात्रा, वैकल्पिक मार्ग र अनिश्चितताको जोखिममा परेका छन् ।


धादिङको गजुरी गाउँपालिका–५ गलौदी नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अहिले पूर्ण रुपमा अवरुद्ध छ । शुक्रबार साँझदेखि राजमार्ग पूर्ण रुपमा आवागमन बन्द रहेको हो । संघीय राजधानी काठमाडौं हिडेका नारायण प्रसाद गुरासैनी गजुरीमै बास परे । ‘आउँदा आउँदै गन्तव्य नपुगी बाटोमै बास पर्यो । बाटो कहिले खुल्छ थाहा छैन’ उनले भने– ‘कृष्णभीरमा साथीहरु झण्डै एक महिना थुनिएको व्यथा ताजै छ । हाम्रो हालत पनि उस्तै होला जस्तो भयो ।’
नारायण जस्तै सडक अवरुद्ध भएर राजमार्गमा बास र सास्ती खेपेका धेरै छन् । गन्तव्यमा पुग्ने अन्योलमा रहेका उनीहरु वैकल्पिक मार्गको खोजीमा छन् । तर भोटेकोसी बाढीले धादिङको त्रिशुलीमा रहेका पुलहरु बगाएपछि विकल्पविहिन बनेको हो । पोखराबाट काठमाडौ आउँदै गरेकी सविना श्रेष्ठ भन्छिन्– ‘पहिरोले बाटै बन्द भयो । पहिरो खसिरहेको छ, बाटो खुल्न १/२ दिन लाग्छ भन्छन् । न फर्किनु, न पर्खिनु भयो ।’
गलौदी नजिकै पृथ्वी राजमार्गमा सडक भासिएपछि यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्कले बताए । ‘पहिरो ठूलो रहेकोले राजमार्ग खुल्न केही दिन लाग्ने देखिन्छ । वैकल्पिक मार्गको रुपमा नौविसेबाट हेटौडा पठाइएको छ । पृथ्वी राजमार्ग भएरै जानुपर्ने सवारीहरु काठमाडौंतर्फ नागढुंगा र पोखरातर्फ मुग्लिन आसपास रोकिएको छ’ उनले भने ।
आइतबारसम्म पृथ्वी राजमार्ग सुचारु गर्छौंः आयोजना प्रमुख अधिकारी
सडक भासिएर अवरुद्ध बनेको राजमार्ग मुस्किलले शनिबार बेलुकी अथवा आइतबार मात्रै सुचारु गर्न सकिने नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘गलौदीमा त्रिशूली नदीतर्फको सडक किनारमा करिब ६० मिटर क्षेत्रमा चिरा परेको छ । त्यसमध्ये करिब ३५ मिटर सडक भासिएर तल खसेको छ । सडकमा चिरा पर्ने र भासिने क्रम नरोकिएकाले थप क्षति हुन सक्ने जोखिम छ’ उनले भने– ‘अहिले रातको समयमा किनारमा नदीले कति कटान गरेको छ भनेर हेर्न सकिएको छैन । सडकको कुनामा रहेको डेनसम्मै चर्किएकोले भित्ता कटान नगरी एकतर्फी पनि सञ्चालन गर्न सक्ने अवस्था छैन । हामीसँग उपकरणहरु त पर्याप्त छन् । प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्याङ्कन गरेर भोलि विहानैबाट काम सुरु गर्छौं । सके शनिबार नसके आइतबारसम्म पृथ्वी राजमार्ग सुचारु गर्छौं ।’
भोटेकोसी बाढीका कारण भदौ १४ गते पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नयाँ ट्रयाक खोलेर असोज १ गतेबाट राजमार्ग सुचारु गरिएको थियो । वैकल्पिक मार्गको रुपमा खोलिएको कृष्णभीर क्षेत्रमा वर्षातको समयमा पटक–पटक पहिरो झरेर सडक अवरुद्ध हुदैं आएको छ । पृथ्वी राजमार्गकै परेवाभीर, चालिसे, बाङ्गे लगायतका क्षेत्रमा खसेको पहिरोले यात्रुहरुले ठूलै सास्ती व्यहोर्दै आएका छन् ।
६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध बन्दा हजारौं यात्रुहरु प्रभावित बनेका छन् । दैनिक १३ हजार भन्दा बढी सवारी गुड्ने यस राजमार्गमा चाडपर्वमा झण्डै तेब्बर सवारी गुड्छन् । अत्यावश्यक सवारी, यात्रुबाहक तथा मालबाहक सवारीहरुको उच्च चाप हुने पृथ्वी राजमार्गको वैकल्पिक मार्ग खोजी र स्तरोन्नति नहुँदा यात्रुहरुले हरेक वर्ष यस्तै सास्ती खेप्दै आएका छन् । भोटेकोसी बाढीपछि भोगेका सास्तीबाट पाठ सिकेर बेलैमा योजना र तयारी नगर्ने हो भने दशै तिहार जस्ता चाडपर्वमा विकराल अवस्था नआउँला भन्न सकिन्न ।

