धादिङ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन भासिएको खण्डको भित्तातर्फ कटान सुरु गरिएको छ । धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा सडक चौडा पारेर शनिबार साँझसम्म राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार शनिबार बिहानैदेखि स्काभेटर प्रयोग गरेर भित्तातर्फ कटान भइरहेको छ । थप समस्या नआए साँझसम्म सडक खुलाउने लक्ष्य रहेको उनले बताए ।


त्रिशूली नदीले सडकको नदीतर्फको भाग कटान गरेपछि गलौंदीमा करिब ६० मिटर सडकखण्ड प्रभावित भएको हो । सडक भासिएपछि थप क्षति हुन सक्ने जोखिमका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको छ । सडक भासिएको भागमा थप समस्या देखिएपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
पृथ्वी राजमार्ग हुँदै सामान्य अवस्थामा दैनिक १३ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । दसैं–तिहारजस्ता चाडपर्वका समयमा यो संख्या तेब्बरसम्म पुग्ने गरेको छ । चाडपर्वका बेला राजमार्ग अवरुद्ध हुँदा घर फर्किने यात्रु र सवारीचालक बढी प्रभावित भएका छन् ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले सम्बन्धित निकायले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

