धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी नजिक सडक भासिएपछि रोकिएका सवारीसाधनलाई पास गराइएको छ। सवारी आवागमन सहज बनाउन नयाँ ट्र्याक खोलिएपछि रोकिएका सवारीसाधनलाई पास गराइएको हो।


सडक भासिएर अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा ल्याउन नयाँ ट्र्याक निर्माणको ६० प्रतिशत काम सकिएको नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरुप्रसाद अधिकारीले बताए।
‘सवारी पास गराउन सकिने गरी नयाँ ट्र्याक खोलिएको छ। बाँकी कामका लागि आइतबार बिहानैदेखि फेरि काम सुरु गर्छौं,’ उनले भने, ‘यात्रुहरूको समस्या र पीडालाई मध्यनजर गर्दै अहिलेलाई सवारी पास गराइएको हो।’
अधिकारीका अनुसार शनिबार बिहानैदेखि ६ वटा एक्साभेटर, दुईवटा लोडर र दुईवटा ब्याकहो लोडर परिचालन गरी नयाँ ट्र्याक निर्माणको काम गरिएको थियो। राजमार्ग छिटो सञ्चालनमा ल्याउन राति अबेरसम्म बत्ती बालेर कटानको काम गरिएको उनले बताए।
‘आइतबार पनि बिहानैदेखि काम सुरु गर्छौं। सकेसम्म बिहानैदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयासमा छौँ,’ उनले भने।
भासिएको सडकको कुना तर्फको भित्ता काटेर नयाँ ट्र्याक निर्माण भइरहेको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १२ मिटरसम्म उचाइको भित्ता काट्नुपर्ने आयोजनाले जनाएको छ। शनिबारसम्म उक्त कामको ६० प्रतिशत प्रगति भएको अधिकारीले बताए।

