धादिङ– बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, आरुघाटका ६५ परिवारलाई आपत्कालीन राहत सामग्री वितरण गरिएको छ ।कारितास नेपालको सहयोगमा प्रयास नेपाल, धादिङले वडा तथा गाउँपालिकासँगको समन्वयमा विस्थापित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।


त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको रोहबरमा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याललगायतको टोलीले प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गरी दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
‘राहत सामग्रीमा चामल, दाल, खाने तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, आलु, प्याज, अन्य तरकारी तथा खानेपानी छन्’ उनले भने– ‘प्रभावित परिवारलाई कम्बल, फोम, त्रिपाल, नुहाउने तथा लुगा धुने साबुन, भाँडा माझ्ने सामग्री, दाँत माझ्ने ब्रस र मञ्जनसमेत उपलब्ध गराइएको छ । बालबालिकाका लागि लैक्टोजेन पनि वितरण गरिएको छ’ उनले भने ।
बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोगका सामग्री उपलब्ध गराउँदा उनीहरूको कठिनाइ केही कम हुने अपेक्षा गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
