बाढीबाट ज्यान जोगाएकी मनमायाँ भन्छिन्– ‘अब गर्भको बच्चाको चिन्ता छ’

बाढीबाट ज्यान जोगाएकी मनमायाँ भन्छिन्– ‘अब गर्भको बच्चाको चिन्ता छ’

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सेउलीबजारकी १७ वर्षीया मनमायाँ गुरुङ ८ महिने गर्भ बोकेर बुढीगण्डकी बाढीबाट भागेर ज्यान बचाइन् । चिकित्सकले कात्तिक १ गते सुत्केरी हुने समय दिएका छन् । तर, जीवनको सबैभन्दा संवेदनशील क्षणको तयारीमा जुट्नुपर्ने बेला उनी सुरक्षित बास, पेटभरि खानेकुरा र उपचार खर्चकै चिन्तामा छिन् । बुढीगण्डकीको बाढीले उनको घर मात्रै बगाएन, सुत्केरीका लागि भनेर जोगाएको रकम र आवश्यक सामग्री जुटाउने आधारसमेत खोसिदियो ।

सुत्केरी हुँदा मिठोमसिनो खाने, आवश्यक सामान किन्ने र उपचारमा खर्च गर्ने आशाले मनमायाँले थोरैथोरै रकम बचत गरेकी थिइन् । सामान्य अवस्थामा पनि परिवारका लागि खर्च जुटाउनु सजिलो थिएन। त्यसमाथि बाढीले घरबार नै बगाएपछि उनको त्यो सानो भरोसा पनि रहेन । अहिले उनी गाउँपालिकाले चुलीदेवी माध्यमिक विद्यालयमा बनाएको अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेकी छन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा उनलाई आफू र गर्भमा रहेको बच्चाको भविष्यले पिरोलिरहेको छ ।

‘बाढीबाट भाग्दाभाग्दै ज्यान बच्यो। धन्न पेटभित्रको बच्चालाई असर गरेन,’ मनमायाँले भनिन्, ‘सुत्केरी हुँदा चाहिन्छ भनेर जम्मा गरेको पैसा पनि घरसँगै बगायो। अब खर्च कसरी जुटाउने ? न खानेकुरा छ, न बस्ने घर, न लगाउने कपडा । अब हामीलाई कसले सुरक्षित ठाउँमा सारिदेला ?’

बाढी आउँदा ज्यान जोगाउनु नै उनको पहिलो प्राथमिकता बन्यो। तर, बाढीबाट बचेपछि सुरु भएको अर्को संघर्ष झन् कठिन छ। सुत्केरी हुने समय नजिकिँदै गर्दा आवश्यक स्वास्थ्य सेवा कसरी लिने, खानपानको व्यवस्था कसरी गर्ने र बच्चा जन्मिएपछि कहाँ बस्ने भन्ने प्रश्नले उनलाई घेरेको छ। घरमा भएका लत्ताकपडा, भाँडाकुँडा र दैनिक जीवन चलाउन चाहिने सामग्रीसमेत गुमेपछि सामान्य दिनचर्या चलाउनसमेत कठिन भएको छ।

१७ वर्षकै उमेरमा मातृत्वको यात्रामा रहेकी मनमायाँका लागि अहिले सुरक्षित वातावरण र आधारभूत आवश्यकताको व्यवस्था पहिलो आवश्यकता बनेको छ। बाढीले विस्थापित बनाएका परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउनु आवश्यक छ, तर गर्भवती तथा सुत्केरी हुने अवस्थामा रहेका महिलाका लागि सुरक्षित आवास, पोषणयुक्त खाना र स्वास्थ्य सेवाको पहुँच झन् महत्वपूर्ण छ ।

मनमायाँको चिन्ता आफ्नो मात्रै छैन। गर्भमा हुर्किरहेको बच्चालाई सुरक्षित संसारमा ल्याउने उनको चाहना छ। तर, त्यसका लागि चाहिने न्यूनतम आधारसमेत बाढीले बगाएको छ। अब उनको एउटै प्रश्न छ—सुत्केरी हुने दिन आइपुग्दा आफू र बच्चालाई सुरक्षित राख्ने व्यवस्था कसले गरिदेला ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट