युगान्डामा बस्ने नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • १९१ पटक पढिएको
युगान्डामा बस्ने नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डामा बस्ने नेपालीहरुसँग भेट गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डा पुगेका प्रधानमन्त्री प्रचण्डले नेपालीहरूसँग अन्तरक्रिया गरेका हुन् ।

Advertisement

‘युगान्डा मेरो पहिलो भ्रमण हो । तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । तपाईँहरूले उठाउनु भएको कुराहरु निकै महत्वपूर्ण छन्’ उनले भने–‘हिजोमात्रै मैले गृह मन्त्रीजीसँग गरेको छलफलबाट भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ ।’

भेटघाट तथा अन्तरक्रियाबाट आफूले विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पाएको बताए । देशको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका विदेशमा बस्ने नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने उनको भनाई छ । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरेका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । युगाण्डा बस्ने नेपालीहरुको सवालहरु सम्बोधन हुने अपेक्षा रहेको उनले बताए ।

सो कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत गहन भूमिका निर्वाह गरेको बताए ।

उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु उपस्थित रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट