





























कैलाली– सुदूरपश्चिम प्रदेशमा रोकिएको कर संकलन गर्न बनेको ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित भएको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले बजेट शुन्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेश पारित गरेको हो ।


सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण भएसँगै कर संकलनको बाटो खुल्ने आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार प्रमाणीकरणको लागि आजै अध्यादेश प्रदेश प्रमुखसमक्ष अध्यादेश पु¥याइने छ । अध्यादेश प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरू गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।
तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्मा प्रस्तुत बजेट पारित हुन नसकेपछि साउन १ देखि प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो । बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भएमात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानूनी व्यवस्था छ ।
प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
